
काठमाडौँ– सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै गत वर्ष चैत ११ गतेदेखि गरेको लकडाउन झण्डै ६ महिनामा खुल्यो। लकडाउन खुला भएसँगै व्यवसायीहरुले केही राहत हुने अपेक्षा गरेरका थिए। तर व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन भने कठिन भएको व्यापारीहरु बताउँछन्।
कुनै बेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने हेटौँडा अहिले सुनसान जस्तै छ। केही होटल बन्द छन् भने खोलिएका होटलमा व्यवसाय ठप्प छ। कोरोना महामारीले धेरैको व्यवसाय ठप्प भयो त कयौँ बेरोजगार भए।
करिब ५ वर्षदेखि हेटौँडामा होटल व्यवसाय सञ्चालन गरिरहेका महेश श्रेष्ठ नेपालको अर्थतन्त्र व्यापारमुखी भएकाले कोरोना भाइरसले तत्कालीनभन्दा पनि दीर्घकालीन असर गरेको बताउँछन्।
१४ वर्ष दुबईमा बसेपछि आफ्नै देशमा केही गर्छु भनेर नेपाल आएका थिए महेश।
उनी भन्छन्, ‘मलाई जिन्दगी नै विदेशमा बिताउनु थिएन। आफ्नै देशमा आएर केही गर्न मन थियो। त्यसमाथि पनि म एक्लो छोरो, घर व्यवहार हेर्नुपर्ने थियो।’
दुबईमा हुँदा महेशले मार्केटिङको काम गर्थे। होटल सम्बन्धी काममा भने साथीभाइसँग ‘टिप्स’ लिएका थिए।
महेशका अनुसार करिब ६ महिना व्यवसाय ठप्प भएता पनि मंसिरदेखि चाहिँ अलिअलि ग्राहकहरु आउन थालेका छन्।
‘आफ्नै घरमा होटल सञ्चालन गरेकाले भाडामा बस्नेहरुलाई भन्दा त सहज नै भयो। तर बैंकमा घरको लोन तिरिसकेको छैन’, महेश भन्छन्।
लकडाउन खुलेपछि सुरुका दिनहरु सम्झँदै महेश भन्छन्,‘एकदिनमा दुई जना पनि कष्टमर आउँदैनथ्यो। यदि कष्टमर आयो भने पनि हामी आफै डराउँथ्यौँ। परिवार सबै यहीँ बस्छौँ। कोरोनाको पनि डर मान्नु पर्यो नि। पैसाभन्दा त ज्यान ठूलो हो नि त।’
सामान्य अवस्थामा ४ जना कामदार रहेको उनको होटल बन्द हुँदा आफूलाई मात्र नभएर आफ्ना कर्मचारीलाई पनि समस्या भएको बताउँछन्।
उनी भन्छन्, ‘चैत र वैशाखमा त कर्मचारीलाई पालेँ मैले। त्यसपछि नखुल्ने भएपछि कर्मचारीलाई घर पठाएँ। अहिले पनि होटलमा त्यति धेरै क्राउड भएको छैन। अहिले नै कर्मचारीको आवश्यक पनि छैन।’
लकडाउनभन्दा पहिला उनको होटलमा इन्डियन, अष्ट्रेलियन, जापानिज, अमेरिकन पर्यटक पनि आउने गर्थे। उनी थप्छन्, ‘पर्यटकहरुले ग्रीन सिटी भनेर हेटौँडालाई चिन्छन्। लकडाउन खुलिसकेपछि इन्डियनहरु चाहिँ आएका छन्।’
अहिलेको अवस्थामा होटल व्यवसाय धरासायी अवस्थामा पुगेको महेशको भनाइ छ। भन्छन्, ‘कति मान्छेको जागिर नै गएको छ लकडाउनले। पाल्न सक्नेले त कर्मचारी पाल्छन् तर जस्तो मैले धेरै समय पाल्न सकिनँ त्यसैले आ–आफ्नो घर पठाएँ।’
सरकारले होटल व्यवसाय खोल्न स्वीकृति दिएपनि नियमित उडान नखुल्दा आफूहरु मारमा परेको महेशको भनाइ छ।
महेश थप्छन्, ‘सरकारले ब्याज तिर्न अलि सहज गराइदेओस्, पैसा तिर्ने म्याद अलि बढाइदेओस्, हामीले सरकारसँग सबै पैसा घटाइदेऊ पनि भनेको छैनौँ।’
सरकारले विदेशी पर्यटकहरुलाई नेपाल आउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् महेश। भन्छन्, ‘उनीहरु पनि सेफ्टी लिएर नेपाल आउन सक्छन्, हाम्रो ठाउँबाट हामी पनि सक्दो सहयोग गर्छौँ।’
विदेशमा जति लगानी गरिन्छ त्यसको आधा लगानीले नेपालमा राम्रो व्यवसाय सञ्चालन गर्न सकिने बताउँछन् महेश। तर लगानी मात्रै गरेर काम गर्न नसकिने उनको बुझाइ छ।
‘दत्तचित्त भएर काम गर्न सक्नु पर्यो। आफूले पनि मेहेनत गर्नु पर्छ धेरै,’ महेश भन्छन्।
उनका अनुसार नेपालमा धेरै अवसरहरु छन् तर सही तरिकाले मानिसहरुले प्रयोग गर्न जानेका छैनन्। आन्तरिक तथा बाह्य पर्यटकलाई लिएर केही प्याकेज घोषणा गरेमा व्यापार फस्टाउन सक्ने उनी बताउँछन्।
महेश भन्छन्, ‘होटल व्यवसायीको एसोसियशन छ। मिटिङ भइरहेको हुन्छ, त्यही अनुसार हामी अगाडि बढिरहेका छौँ, अहिले कोभिडले गरेर चाहिँ मिटिङ भएको छैन। भर्खर त मंसिरदेखि कष्टमर आउन थालेका छन्, अब विस्तारै प्याकेज ल्याउनु पर्छ।’