
जनकपुरधाम- जनकपुरमा व्यावसायीहरुले प्रहरी प्रशासन विरुद्ध भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
भन्सार कटाएर जनकपुर ल्याउँदै गरेको ५ लाखभन्दा बढी मुल्य बराबरको बढीको भारतीय मालसामान एक समूहले ’गुण्डा शैली’मा नियन्त्रणमा लिएको भन्दै स्थानीय व्यवसायीहरु आक्रोशित बनेका छन् । पछि सोही समूहले प्रहरीलाई फोन गरी उक्त सामान भन्सारको जिम्मा लगाएको थियो ।
ज १ ख ८७९ नम्बरको टाटा कम्पनीको पिकअप भ्यानमा लोडगरी भारतबाट ल्याउँदै गरेको कपडा, धागा, एलास्टिक लगायतका सामान बुधबार राति ८ बजे जनकपुर उपमहानगरपालिकाको कुवारामपुरमा नियन्त्रणमा लिई चालक सन्तोषकुमार यादवलाई कुटपिट समेत गरेको भन्सार क्लियरेन्स एजेण्ट मोहम्मद रहमानले जानकारी दिए ।
रहमानका अनुसार जटही भन्सारबाट विधिवत् राजस्व तिरेर जनकपुरतर्फ ल्याउँदै गरेको सामानहरु धनुषा फूलगामाका जयकुमार यादव र सर्लाहीका अन्तोस दास नेतृत्वको समूहले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो। पछि प्रहरीलाई फोन गरी भन्सार बुझाइएको थियो। तीन मोटरसाइकल तथा एक भारतीय नम्बरको जिपमा सवार आएका ८ र१० जनाको उक्त समूहले ‘ व्यापार चौपट्ट पारी दिने धम्की’ दिएको उनले बताए।
जनकपुर भन्सार बुझाइएका उक्त सामान लैजान राजस्व अनुसन्धान विभाग, पथलैयाबाट आएका राजस्व अधिकृत तेजमणि काफ्ले समक्ष स्थानीय व्यावसायीहरुले चर्को विरोध जनाएका थिए। समस्या समाधानको पहल गर्न भन्सार कार्यालय पुगेका प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, उपाध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव जीतेन्द्र महासेठलगायतले विधिवत् राजस्व तिरेर ल्याएको मालसामान पक्राउ गरी व्यावसायीहरुलाई दुस्ख दिएको आरोप लगाए।
‘भारतबाट ल्याएको सामानको यही चेक गर्न भनेका हौं। राजस्व तिरेका छन् भने छाड्नु पर्यो। तिरेका छैनन् भने कानुनबमोजिम कारबाही गर्नु पर्यो। व्यापारीलाई अनावश्यक दुस्ख दिनु भएन।’ प्रदेशसभा सदस्य परमेश्वर साहले भने।
तर, राजस्व अधिकृत काफ्ले नियन्त्रणमा लिइएको सामान पथलैया लग्ने जिद्दी गर्न थालेपछि दुई पक्षबीच विवाद अझ बढेको थियो। पछि जनकपुर उद्योग वाणिज्य संघ र काफ्लेबीच लिखित सहमति भई समस्या समाधान भएको थियो। सहमतिमा सामान बर्दीवासस्थित राजस्व विभागको इकाई कार्यालयमा लगी जाँज गर्ने उल्लेख छ।