
दाङ- प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वेन्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दुई खेल जितेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाइ ९ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
जितका लागि पाएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीका नेरी थापा ९ र सरस्वती घर्तिमगर ३ रनमा अविजित रहे। कर्णालीकी अन्जु गुरुङले एक विकेट लिएकी थिइन् ।
त्यसअघि देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ बलमा २ चौकासहित सर्वाधिक ८ रनको योगदान दिइन् । अंशु शाक्य १४ बल खेल्दै ७ रनमा अविजित रहिन् ।
ओपनर मोनिका राना र तृसना विश्वकर्माले ७.३ ओभरमा १३ रनको साझेदारी गरेका थिए । रानालाई कप्तान नेरी थापाले आफैं क्याच लिँदै पहिलो सफलता दिलाइन् । उनले १६ बलमा २ रन जोडिन् । तृसना २ रनमा रन आउट भइन् । उनले ३१ बल खेलेकी थिइन् । कर्णालीले १० रन एक्स्ट्रा पाएको थियो ।
लुम्बिनीकी युवा तीव्र गतिकी बलर सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन् । कप्तान नेरी थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए । हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल १३/१३ ओभरमा झारिएको थियो ।
लगातार दुई हारसँगै कर्णाली समूहबाटै बाहिरिन औपचारिकता बाँकी छ । पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा प्रदेश- २ लाई ९ विकेटले हराएको थियो ।
आइतबार दोस्रो खेलमा एपिएफ र प्रदेश- २ भिड्दै छन् । प्रदेश -२ ले एपिएफलाई हराएमा लुम्बिनी सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनु पर्ने हुन्छ । एपिएफ विजयी भएमा लुम्बिनी पनि सेमिफाइनलमा एक खेल अगावै पुग्ने छ ।