
काठमाडौँ- आइसिसी एसोसिएट प्लेयर अफ दी डिकेडको अवार्ड स्कटल्यान्डका कायल कोएट्जरले हात पारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल- आइसिसीले आइतबार विजेताको घोषणा गरेको हो। यो अवार्डको मनोनयनमा नेपालका पारस खड्का पनि थिए।
सन् २०१० देखि २०१९ सम्म गरेको प्रदर्शनका आधारमा विजेताको चयन भएको हो। कोएट्जरले यस अवधिमा २ हजार २ सय २७ एकदिवशीय अन्तर्राष्ट्रिय रन बनाएका छन्।
यसैगरि स्कटल्यान्डकै क्याथरिन ब्राइसले आइसिसी एसोसिएट वुमन प्लेयर अफ दी डिकेडको अवार्ड जितेकी छिन्।
आईसिसी टीट्वेन्टी टिम अफ दी डिकेडमा भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल, अस्ट्रेलियाका एरोन फिन्च, भारतका विराट कोहली, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, भारतका महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका कायरन पोलार्ड, अफगानिस्तानका रसिद खान, भारतका जसप्रित बुमराह र श्रीलंकाका लासिथ मालिङ्गा परेका छन्।