
धनगढी- प्रदेश ७ को सरकारले बैशाख ९ गते बजेट ल्याउने भएको छ।
चालु आर्थिक वर्षका लागि आईतबार १ अर्ब २ करोडको बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिए।
आईतवार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकको चालु आर्थिक वर्षको बजेट पेश गरिनेछ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठका अनुसार बजेटको सम्पूर्ण तयारी पुरा भएको छ ।
बजेट ल्याउनुपछि आवश्यक पर्ने कानुन निर्माण, प्रारम्भिक दस्तावेज र बजेट भाषण तयार पारिसकिएको सचिव श्रेष्ठले जानकारी दिए ।
वैशाख देखि असारका लागि प्रदेश सरकारले ल्याउने बजेटमा आयउल्लेख हुनेछैन। बजेटमा खर्चको विषय मात्रै उल्लेख हुने जनाइएको छ ।
साधारण र विकास खर्च मात्र समेटिएको बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजनामन्त्री बोहराले बताए ।
यसमा दीर्घकालीनभन्दा तत्कालीन विषयलाई समावेश गरिने जनाइएको छ। प्रदेशका बासिन्दाले तत्काल अनुभूति गर्ने कार्यक्रम समावेश गरिने मन्त्री बोहराको भनाइ छ ।
‘खानेपानी, सडक, शिक्षा, कृषि आदि क्षेत्रमा तत्काल गर्न सकिने कार्यक्रम ल्याइनेछ,’ उनले भने ।
छोटो अवधिमा दीर्घकालीन योजनाहरू समावेश गर्न नसकिने भएकाले तत्काल राहत र विकासका विषयलाई मात्रै समावेश गरिन लागेको जनाइएको छ ।
प्रदेश सरकारले ल्याउने पहिलो बजेटसँगै आर्थिक वर्ष ०७५/७६ को बजेटको तयारी पनि थालेको जनाएको छ ।