काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएका छन्।सन्दीपको टीम होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको छ।
सन्दीपले चार ओभर बलिङ गर्दै ३८ रन खर्च गरे। उनले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन्। उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिए।
चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि सन्दीपले आज पहिलो खेल खेलेका हुन्। टस हारेपछि होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए। १ सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्सले २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो। मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए। बलिङतर्फ होबार्टका लागि स्कट बोलान्डले तीन विकेट लिए।
होबार्टमा आवद्ध सन्दीपले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका सुरुआतका ६ खेल गुमाएका थिए। नेपालमै छँदै उनी कोरोनाबाट सङ्क्रमित भएका थिए।
होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ। होबार्टले अब अर्को खेल सोमबार खेल्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































