
कुम जुँगाले चिन्न थाले, गफै हो त सम्धी?
सबैले जुँगा किन पाले, गफै हो त सम्धी?
पानी जहाज ल्याउन राजधानीमा खोजेको
आफ्नै मितले पनि गाले, गफै हो त सम्धी?
दौँतरीको भर परे फाल्छन् बोकी भिरमा
गरेस् विचार भन्थे बाले, गफै हो त सम्धी?
धेरैले मनाए रमाइलो घुर्ने थलो भत्काउँदा
लुच्छ्न् क्यारे रातो भाले, गफै हो त सम्धी?
बालुवाको दुईवटा खम्बा एउटै बनाउँ भनेको
कुहिएका भेट्नाले ढाले, गफै हो त सम्धी?
मेरै राडी मेरै काम्लो मेरै जिउमा के बुरबुर
बैगुनीलाई पाखामा फालेँ, गफै हो त सम्धी?।।
जस्को कटेरो उस्को पुच्छर बाहिर पो पारे
हेर्दा नकचरा देख्दै छाले, गफै हो त सम्धी?
टपरी मेरो ताक्नेलाई दोबाटोमा मन्छिदा
अड्डामा गइ नालिस हाले, गफै हो त सम्धी?