
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व पीएसओ सानुराम भट्टराईले झापाको सुरक्षा कमाण्ड सम्हाल्ने भएका छन्।
प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरिक्षक-एसपीको सरुवा निकाल्दा भट्टराईलाई झापाको नेतृत्व दिइएको छ।
२०७५ साल जेठमा एसपीमा बढुवा हुनुअघि भट्टराई प्रधानमन्त्री ओलीको पीएसओ थिए। प्रधानमन्त्रीको पीएसओ रहेकै बेला उनी आफ्ना ब्याचीमध्ये चौथो नम्बरमा रहेर एसपी बढुवा भएका थिए। त्यसयता उनले तराईको महत्वपूर्ण मानिने बाराको पनि कमाण्ड गरिसकेका छन्।
मध्यावधी चुनाव घोषणा भएको पृष्ठभूमीमा भट्टराईलाई प्रधानमन्त्री ओलीको जिल्लामा पठाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ। यद्यपी प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतमा विचाराधिन रहेको छ।
नेपाल प्रहरीमा एसपीसम्मको सरुवा प्रहरी प्रधान कार्यालयले गर्छ। तर तराई र केही पहाडी जिल्लामा एसपी र बाँकीमा डीएसपीले नेतृत्व गर्ने भएकाले उनिहरुको सरुवामा प्रधानमन्त्रीसम्मको प्रभाव देखिने गरेको छ।
को एसपी कहाँ ?
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निकालेको सरुवा सूचीअनुसार आभुषण तिम्सिनालाई सिन्धुली, उमाप्रसाद चतुर्वेदीलाई कन्चनपुर, दीपेन्द्र शाहीलाई बारा, बेलबहादुर पाण्डेलाई पर्सा, भूपेन्द्रबहादुर खत्रीलाई काभ्रपलान्चोक, महेन्द्र खड्कालाई धादिङ, लोकेन्द्र श्रेष्ठलाई बाग्लुङ र सोमेन्द्रसिंह राठोरलाई मकवानपुर जिल्लाको नेतृत्व दिएको छ।