बाँके – बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगर ड्रयागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।
६ वर्ष वैदेशिक रोजगारमा ड्रयागन खेती गरेर घर फर्केका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती सुरु गरेका हुन्।
मगर ६ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे। मलेसियामा ड्रयागन फ्रुटको फार्ममा काम गरेका मगरले अहिले भने आफ्नै ठाउँमा ड्रयागन फ्रुटको खेती सुरु गरेका छन्।
सुरुमा एउटा बोटबाट खेती सुरु गरेका मगरको बारीमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा बिरुवा रहेका छन् ।
१० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढिको बिक्री भइसकेको उनले बताए।
ड्रयागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छिन्। ड्रयागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताए। अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले बिक्री भइराखेको छ ।
अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रयागन फ्रुटको बिरुवा लगाएको पनि थापाले बताए।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रयागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए।
पालिकालाई नमुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रयागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































