
काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ।
याे समूहले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाइएको हो।
नेकपाको काठमाडौँ जिल्ला कमिटी उक्त विरोधपत्र बुझाउन जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
उक्त संविधान पुस्तक र विराेध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए।
देशका अरु जिल्लामा पनि नेकपाको प्रचण्ड–माधव समूहले प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका छन्।
प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा भंगको निर्णय असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ।