
काठमाडौँ- नेपाली लेग स्पीनर सन्दीप लामिछानेले विश्वका कुनैपनि ठुला व्यावशायीक क्रिकेट प्रतियोगिता खेल्न बाँकी छैन।
उनले प्राय खेलमा विकेट लिएका छन्। तर ‘प्लेयर अफ दी म्याच’स्तरको प्रदर्शनका लागि अझैपनि उनी संघर्षरत छन्।
पाकिस्तान सुपर लिग-पीएसएलका लागि खेल्नेक्रममा गत सिजन उनी एक खेलका लागि प्लेयर अफ दी म्याच घोषित भएका थिए। इन्डियन प्रिमियर लिग-आईपीएलको सन् २०१९ को सिजनमा उनी एक खेलमा स्टाइलिस प्लेयर अफ दी म्याच बनेका थिए।
त्यसबाहेक उनले खेलेका करिब ७० व्यावशायीक क्रिकेट खेल(विदेशमा आयोजित)मा उनी यो अवार्ड जित्न असफल छन्। गत सिजन आईपीएलमा एउटै खेलमा पनि अवसर नपाएपछि २० वर्षीय सन्दीपमाथी यतिबेला दबाब बढेको छ।
सन्दीप अहिले अस्ट्रेलियामा बिग बास लिग-बीबीएल खेलिरहेका छन्। उनको टोली होबर्ट हुरिकेन्स १० खेलबाट पाँच जित र पाँच हारको नतिजासहित १९ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ।
सन्दीपले यो सिजन टोलीका लागि चार खेल मात्र खेलेका छन् जसमध्ये पछिल्ला तीन खेलमा हुरिकेन्स पराजित भएको छ। कोरोना भाइरसको संक्रमण भएपछि सन्दीपले हुरिकेन्सका सुरुका ६ खेल गुमाएका थिए। ती खेलमा हुरिकेन्सले चार जित र दुई हारको नतिजा निकालेको थियो। होबर्टले अब पहिलो चरणमा चार खेल खेल्न बाँकी छ। यी खेलको नतिजाले उ शीर्ष चार भित्र रहने नरहने निर्क्योल हुने छ।
१० खेलपछि सिड्नी सिक्सर्सको २९ र सिड्नी थण्डरको २३, एडिलेड स्ट्राइकरको २० र ब्रिसबेन हिटको पनि २० अंक छ। पर्थ स्कोचर्सको ९ खेलबाट २० अंक छ। यस्तो अवस्थामा हुरिकेन्सलाई प्ले अफमा स्थान बनाउन सजिलो देखिँदैन। यसैबीचमा पीएसएलको यो सिजनका लागि भएको खेलाडी अनुबन्धनमा सन्दीप अँटाउन सकेनन्। यतिबेला सन्दीप दबाबमा छन्।
बीबीएलको यो सिजन सन्दीपले खेलेको पहिलो खेलमा हुरिकेन्सले मेलबर्न स्टार्सलाई हराएको थियो। सन्दीपले त्यस खेलमा २ विकेट लिएर ३८ रन खर्चिएका थिए। उनले दोस्रो खेलमा एक विकेट लिएर ३६ रन खर्चिए। तेस्रो खेलमा एक विकेट लिएर २३ रन मात्र दिए। पछिल्लो खेलमा तीन ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चिए भने कुनै विकेट हात पार्न सकेनन्। हुरिकेन्सको ब्याटिङ पनि कमजोर देखिएको छ। सन्दीपले आफ्नो बलिङ इकोनोमी सुधार गरेपनि हुरिकेन्सले हार ब्यहोरिरहनु उनका लागि टाउको दुखाई बनेको छ।
गत आईपीएल खेल्न युएई जानुअघि उनी क्यारेबियन क्षेत्रमा क्यारेबियन प्रिमियर लिग खेलिरहेका थिए। त्यहाँ उनले ११ खेलमा १२ विकेट हात पारे, ५.२७ रनको बलिङ इकोनोमीमा। उनी जमैका तल्लावाजका लागि सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा थिए। पहिलो स्थानमा रहेका मुजिब उर रहमानले ११ खेलमा १६ विकेट हात पारेका थिए। तल्लावाज सेमिफाइनलबाटै बाहिरिएको थियो।
बिग बास लिगको पछिल्लो सिजन सन्दीपले मेलबर्न स्टार्सका लागि खेलेका थिए। त्यतिबेला मेलबर्न स्टार्स फाइनलसम्म पुगेको थियो। सन्दीपले १३ खेलमा १५ विकेट हात पारेका थिए,७.४४ रनको बलिङ इकोनोमीमा। ह्यारिस रौफ(१० खेलमा २० विकेट) र एडम जाम्पा (१२ खेलमा २० विकेट)पछि उनी मेलबर्न स्टार्सका लागि सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा थिए।
सन्दीपले हालसम्म टीट्वेन्टी क्रिकेट (घरेलु खेल समावेश छैनन्)मा ९२ खेलमा एक सय २१ विकेट हात पारेका छन्। तीमध्ये टीट्वेन्टी अन्तर्राष्ट्रियमा मात्र २१ खेलमा ३४ विकेट हात पारेका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रियमा उनको बलिङ इकोनोमी ६.५१ रनको छ भने टीट्वेन्टीमा ६.७७ रनको।