
भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले ३३ रनको अग्रता लिएको छ। तेस्रो दिन भारतलाई ३ सय ३६ रनमा समेटेको अस्ट्रेलियाले दोस्रो पालीमा दिनको खेल समाप्त हुँदासम्म विकेट नगुमाई २१ रन जोडेको छ।
अस्ट्रेलियाले समग्रमा ५४ रनको अग्रता लिएको छ। दुई दिनको खेल बाँकी रहेको अवस्थामा यो खेलमा जित हारको नतिजा निस्कने सम्भावना कम देखिएको छ। शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्ट अस्ट्रेलिया र दोस्रो टेस्ट भारतले जितेको थियो। तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो।
भारतलाई अलआउट गर्नेक्रममा जोस हेजलउडले पाँच तथा मिचेल स्टार्क र प्याट कुमिन्सले दुई दुई विकेट हात पारे। भारतका वासिङ्टन सुन्दरले ६२ र सार्दुल ठाकुरले ६७ रन बनाए। मायाङ्क अग्रवालले ३८, कप्तान अजिन्क्या रहानेले ३७ र रोहित शर्माले ४४ रन जोडे। एक सय ८६ रन जोड्दा ६ विकेट गुमाएको भारतका लागि सार्दुल र वासिङ्टनले सातौँ विकेटका लागि एक सय २३ रनको साझेदारी गरेका थिए।