
काठमाडौँ- नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ।
माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो। टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ। सो ठाउँ बाग्लुङ सदरमुकामदेखि १२४ किलोमिटरको सडक दूरीमा र करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित छ।
उक्त सेवाबाट त्यस स्थानका करीब ५०० घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन्।बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ।
त्यसैगरी डोल्पाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ। डोल्पा बुद्ध गाउँपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करीब दुई हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन्। यो दुनै सदरमुकामदेखि करीब तीन दिनको पैदल दूरीमा पर्छ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।
प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ।