काठमाडौँ– उनी कम्प्यूटर इन्जिनियरिङमा स्नातक गरिरहेका बेला किताबकाे मूल्य महँगाे थियाे।
एकातिर किताब महँगो अर्काेतिर नोट्स पनि नपाइने । यस्ताे समस्या उनको मात्र नभई अरु विद्यार्थीको पनि थियो।
‘अनलाइनमा पढ्ने रिर्सोसेज पाएको भए कति सजिलो हुन्थ्यो’, उनी यही साेचिरहन्थे।
आफू जस्तै समस्या अरु विद्यार्थीहरुले पनि यस्ताे समस्या भोगिरहेको देखेर विकल्पहरु खाेज्न थाले।
२०६६ सालमा स्नातक सकेपछि आफ्ना एक साथीसँग मिलेर उनले ‘इ–लर्निङ’ वेब साइट बनाए।
‘साथीले पनि इ–लर्निङको सोच बनाउनुभएको थियो र मेरो पनि त्यस्तै सोच थियो’ उनले भने, ‘मैले कलेजको लागि सोचेको थिएँ। तर हामीले सुरु गर्दा स्कूलदेखि नै सुरु गरौँ न त भनेर वेबसाइट बनायाैँ।’
वेबसाइटको निर्माण गरेर त्यसमा विद्यालय तहका ‘कन्टेन्ट’ राख्न सुरु भयो। सुरुमा सो वेबसाइटमा कक्षा १० को विज्ञान विषयकाे नोट्स, प्रश्न–उत्तरसँगै ‘प्राक्टिकल’ भिडियो राखियाे।
‘त्यो बेलामा साइन्सको प्राक्टिकल स्कूलमा गराइरहने समय हुँदैन थियो। स्कूलले प्राक्टिकल गराइ हाल्यो भने पनि वर्षको १/२ वटा गराउँथ्यो। त्यस्तो अवस्थामा प्राक्टिकल कस्तो हुन्छ ? के हुन्छ भनेर त्यसलाई फेरि रिपिट गरेर हेरौँ न भन्दा सम्भव हुँदैन थियो। त्यसपछि हामीले विद्यार्थीलाई नोट्ससँगै युट्युबबाट भिडियोहरु खोजेर ती नोट्सहरुसँग लिंक गरेर राख्याैँ। जसले विद्यार्थीहरुलाई सहयोग पुग्ने भयो’, उनी सुनाउँदै गए।यसरी उनले अनलाइनलाई सिकाइको माध्यम बनाएको आठ वर्ष भयो। उनी हुन् २८ वर्षका अदिप पौडेल।
अनलाइन सिकाइको माध्यमलाई प्रभावकारी बनाउने क्रममा सुरुवातका तीन वर्षमा आफूले धेरै नै उचारचढाव भाेगेकाे पाैडेल बताउँछन्।
उनलाई ‘इ–लर्निङ’ बनाउन जति सहज भयो त्याे भन्दा धेरै यसका बारेमा बुझाउन गाह्राे भएकाे रहेछ।
‘सबैका लागि इ–लर्निङ नयाँ हुन्थ्यो। बुझाउनै गाह्रो’ अदिपले भने, ‘हामीले स्कूल–स्कूलमा गएर अनलाइनबाट पनि पढ्न मिल्छ है भनेर सिकायौँ। जब विद्यार्थीहरुले त्यसको पयोग गर्न थाले । त्यसपछि शिक्षकहरुबाट कस्तो कम्प्लेन आउन थाल्यो भने बच्चाले तपाईँको वेबसाइटबाट हेर्छ, आएर हामीले पढाउनु भन्दा अगाडि नै चाहिँदो नचाहिँदो प्रश्न सोध्छन्। हामीलाइ तपाईँको काम चित्त बुझेन।’
त्याे बेला शिक्षकहरु प्रविधिमैत्रि भइसकेकाे थिएन।
अदिपले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन तालिमको व्यवस्था गरे । तर शिक्षकहरुलाई तालिममा सहभागी गराउन फेरि नयाँ समस्या!
त्यसका लागि उनले केही नेताकाे सहयोग लिए।
‘त्यो समयमा काठमाडाैँ क्षेत्र नम्बर ४ बाट गगन थापा दाइ हुनु हुन्थ्यो। उहाँहरुले भनेको सबैले सुन्ने भएकाले उहाँलाई आग्रह गर्दा सहयोग गर्नुभयो । क्षेत्र नम्बर ५ मा नरहरि आचार्य हुनुहुन्थो । उहाँले पनि सहयोग गर्नुभयो। उहाँहरुको पहलमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दियौँ’, अदिप सम्झन्छन्।
करिब एक हजारभन्दा बढि सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिएको उनले बताए। उक्त तालिम पश्चात ‘इ–लर्निङ’ बारे शिक्षकहरुको सोचमा निकै परिवर्तन आयो।
केही हदसम्म शिक्षकहरुलाई प्रविधि सिकाउने चुनौतिबाट बाहिर निस्केका अदिपमाथि फेरि अर्को चुनौति थपियो।
‘साेचेझैँ इ–लर्निङ रहेनछ’ भन्ठानेर सहकर्मीहरुले साथ छाेडे।
उनले भने, ‘उहाँहरुले छोडेर गए पनि नयाँ साथीहरु आउनु भयो। तर नयाँ कामकाे सुरुवातमा त्यसरी छोडर जाँदा काममा ट्याकल गर्न धेरै गाह्रो हुने रहेछ।’
पुराना साथीहरुकाे साथ छुटे पनि अदिपका पाइलाहरु लक्ष्यकाे बाटाेमा हिँड्न डगमगाएनन्। उनले कामलाई निरन्तरता दिइरहे। २०७० सालमा आफ्नो कम्पनीलाई ‘कुलल्याब्स’ नाम दिए।
अहिले नामसँगै काम पनि राम्रो भइरहेको उनी बताउँछन्। अहिले ‘कुलल्याब्स’ मा कक्षा ६ देखि १२ सम्मका करिब ६० वटा विषयवस्तु समावेश गरिएको छ।
नोट्स कसरी संकलन गरिन्छ ?
‘नोट्सका लागि हामीले भोलेन्टेयर रुपमा शिक्षकहरुकाे साथ लिएका छाैँ । जस्तो साइन्स टिचरसँग आफ्नो नोट्स हुन्छ। उहाँहरुको नोट्स हामीले ल्याउँछौ र डिजिट्लाइज गरिसकेपछि त्यसको भेरिफिकेशनका लागि फेरि उहाँहरुलाई पठाउँछौँ। त्यो भेरिफाइ भएर आइसकेपछि त्यसलाई आफ्नो वेबसाइटमा अपलोड गछौँ’, उनले भने ।
शिक्षकहरुसँगै विद्यार्थीहरुका उत्कृष्ट नोट्स पनि प्रयाेग गर्ने गरेकाे उनले बताए। तर विद्यार्थीहरुबाट लिइएको नोट्स पनि प्रोफेसरहरुसँग भेरिफाइ गरेर मात्र वेबसाइटमा राख्ने गरेको उनले बताए।
‘हामीले विद्यार्थीहरुसँग नोट्स लिइरहेको भनेको ब्याचलर लेबलका लागि हो’ उनले भने, ‘सेलेक्टेड, राम्रो विद्यार्थीहरुको नोट्स राख्छौँ। त्यस्तो विद्यार्थी हामीसँग १०/१२ जना छन्।’
अदिपले साना बालबालिकाहरुका लागि गेम र वेबसाइटबाट एपमा परिवर्तन गर्ने काम भइरहेको सुनाए। यति मात्र होइन, उनले सानो कक्षाका विद्यार्थीहरुका लागि पनि काम गरिरहेका छन्।
‘हामी तल्लो तहमा काम गरिरहका छौँ। नर्सरी, एलकेजी, यूकेजी, वान, टु लेबलका बालबालिका निकै सेन्सेटीभ हुन्छन्’ उनले भने, ‘६ देखि माथिका बच्चाहरु आफै पनि पढ्न सक्ने हुन्छन्। उनीहरुले इन्टरनेट चलाउन जानिसकेका हुन्छन्। सानो एजका बच्चाका कन्जुमर भनेका अभिभावक हुन्। त्यसैले हामीले सुरु १० बाट गर्यौँ ६ सम्म पुगेका छाैँ। बिस्तारै त्यो भन्दा सानो कक्षाको सुरु गर्दै जाने योजना छ। खास योजना १ देखि स्नातकसम्म पढाउने हो।’
‘कुलल्याब्स’ सँग जोडिएकाहरुका लागि आफूहरुले दुईवटा मोडल ल्याएको उनी बताउँछन्। जसमा एउटा मोडल निशुल्क प्रयोग गर्न मिल्छ भने अर्को शुल्क तिर्नु पर्छ।
एउटा इन्टरनेट बिना नै पढ्न र पढाउन मिल्ने सफ्टवेयर प्रदान गरिन्छ।
यसका कक्षा र सफ्टवेयर हेरेर ५ हजार देखि १५ हजारसम्म शुल्क ताेकिएकाे छ।
त्यो बाहेक विद्यार्थीहरुले नेट राम्रो नभएको खण्डमा ल्यापटपबाट चलाउन चाहेमा प्रत्येक विषयको २ सय रुपैयाँ र कक्षाको १२ सय लिएर सफ्टवेयर उपलब्ध गराइरहेकाे उनले बताए।
कति लगानीबाट सुरु ?
अदिपले करिब ४/५ लाख रुपैयाँबाट याे कामकाे थालनी गरेका हुन्।
सानो लगानीबाट सुरु गरको उद्यमका लागि पछि उनले चार करोडको लगानी उनले पाए। तर उक्त लगानीले धेरै चर्चा पाए पनि त्यसलाई सहि ढंगबाट उपयोग गर्न भने सकेनन्।
‘कम्पनीको प्रोग्रेसका लागि ठूलो लगानी चाहिने हो। तर हामीले फाइनान्सिएल मिस म्यानेजमेन्ट धेरै गर्यौँ’, उनले भने, ‘त्यस्तो समस्याबाट बाहिर निस्कन हामीलाई करिब २/३ वर्ष नै लाग्यो।’
बिग्रेको ‘फाइनान्सिएल मिस म्यानेजमेन्ट’ अहिले बिस्तारै सुधार भएको उनले बताए।
‘कुनै पनि काममा उतारचढाव हुन्छ नै’ अदिपले भने, ‘हामीले त्यहाँबाट सिक्दै अगाडि बढ्यौँ र अहिले हामीसँग करिब दुई करोडभन्दा बढिको पुँजि छ।’
उनकाे कम्पनीमा अहिले १३ जना कर्मचारी छन् भने २० जना शिक्षक अप्रत्यक्ष रुपमा जाेडिएका छन्।
आइडिया स्टुडियोसँग कसरी जोडिनु भयो?
सामाजिक सञ्जाल (फेसबुक) मा देखिएकाे एउटा विज्ञापनले अदिपकाे ध्यान खिच्याे। जसमा नयाँ कामका लागि आइडिया मागिएकाे थियाे।
अदिपले त्यसमा आवेदन दिए। उनी छनाैट पनि भए।
‘त्यो समयमा काम कसरी गर्ने, के गर्ने भनेर सिकाउने कोही थिएनन्। धेरै सिक्न बाँकी नै थियो। त्यहाँ सिलेक्ट भइसकेपछि मेन्टरहरुको धेरै साथ पाइयो। फाइनान्सियल मिस म्यानेजमेन्टलाई कसरी मिलाउने, पब्लिक रिलेशन कसरी बनाउने, रेभिन्यू मोडल, व्यक्तित्व विकास, लगायतका धेरै कुरा बारे ज्ञान पाए। आफ्नो काम बारे बताउन, यस्तो कम गर्न लागेको छु तपाईँहरुको विचार राखदिनु न भनेर मेरा मेन्टरहरुलाई भन्न पाएँ। जुन मैले कम्पनी सुरु गर्दा कसैसँग पनि खुलेर भन्न सकिरहेको थिएन। मेन्टरसिप चाहिँ मेरो लागि ठूलो हेल्प भयो। पब्लिक रिलेशन भयो’, उनले भने।
उनले ज्ञानसँगै ‘आइडिया स्टुडियो सिजन–३’ को ट्रफी पनि हात पारे।
लकडाउनले कति प्रभाव पार्यो?
कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि गरेको लकडाउनले हरेक क्षेत्रमा चुनौति थपिए पनि उनका लागि भने अवसर बन्यो।
लकडाउन सुरु भएसँगै अब के हुने हो ? कसो हुने हो भन्ने चिन्ता उनलाई पनि नभएको होइन ।
‘बल्ल बल्ल लय समातेको काम फेरि ओरालो लाग्ने हो की भन्ने पिर थियो’, उनले भने, ‘तर पिर धेरै समय रहेन।’
लकडाउन भएको एक महिनापछि बजारमा उनको खोजी हुन थाल्यो।
‘सुरुवाति दिनमा अनलाइन कक्षाका बारेमा बताउँदै हिँड्नु पर्थ्यो। स्कूल–स्कूल धाएर अनलाइन कक्षा पढाउन सकिन्छ भनेर जानकारी गराउनु परेकाे थियाे’, उनले भने, ‘तर लकडाउन भएपछि स्कुलबाट प्रिन्सिपलहरुको कल आफूलाई खोज्दै आउन थाले।’
कोरोना भाइरस संक्रमण रोक्नका लागि सामाजिक दूरी अति आवश्यक छ। जसले गर्दा लकडाउनका समयमा विश्वभरमा नै अनलाइनबाट नै मिटिङ गर्ने, पढाउने लगायतका काम भए। त्यो समयमा प्रविधिको निकै प्रयोग भए। विभिन्न एपहरु प्नि आए। ती एपहरुको निकै प्रयोग भयो र भइरहेको पनि छ। तर आफ्नै देशका युवाहरुले बनाएको वेबसाइट प्रयोग गर्न निकै समय लागेको उनको भनाइ छ।
‘भूकम्प गएको समयमा पनि हामीहरुले विद्यार्थीहरुका लागि घरमा बसेर पढ्न मिल्ने गरी डिभिडी निकालेका थियाैँ। त्यो डिभिडी भूकम्पपछि बिक्न छोड्यो। त्यसपछि हामी अलमलमा परेका थियौँ। तर त्यहि समयमा अर्को चान्स के आयो भने हाम्रो अनलाइन पनि हो। त्यो समयमा ४/५ हजार विद्यार्थीले प्रयोग गर्थे । भूकम्पपछि विद्यार्थी बढेर ४/५ लाख पुगे। लकडाउनमा के भयो भने नेपालबाट भिजिटर कम थिए। बिस्तारै अनलाइन कक्षा सुरु भएपछि ३ लाख प्रयोगकर्ता बढे र अन्य ३ लाख बाह्य देशका छन्’ उनले भने।
प्रयोगकर्ता बढे सँगै विभिन्न एपहरु पनि बढे । तर ती कम्पनीहरुको निरन्तरता कम देखेको उनी बताउँछन्।
‘लकडाउनको समयमा हामी जस्तै धेरै आए। तर यसैमा लागि पर्नुपर्छ भन्ने कम्पनी देखेको छैन’ उनले भने, ‘१० वर्षको भिजन राखेर आएको कम्पनी मैले देखेको छैन। अहिलेको अवस्थामा त्यस्तो प्रतिस्पर्धा छैन। प्रविधि हो जे पनि हुन सक्छ । दिमाग लगायो भने राम्रो स्कोप छ। प्रतिस्पर्धा नहोला भन्ने चै छैन।’