
सिमकोट– सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्ने स्थानीयको संख्या पछिल्लो समय बढ्दै गएको छ।
ग्यासको प्रयोग गर्दा भान्सामा काम गर्न सहज हुने हुँदा स्थानीयले महँगोमा खाना पकाउने ग्यास किनेर प्रयोग गर्न थालेका हुन्। भान्सामा ग्यास जडान गरेपछि भाडा धरै फोहोर नहुने र समय पनि बचत हुन थालेको सिमकोट बजारकी स्थानीय कैलु लामाले बताइन्।
भान्सामा दाउरा किनेर प्रयोग गर्दा पनि उस्तै खर्च हुने हुँदा ग्यास प्रयोग गर्न थालेको लामाको भनाइ छ।
पहिलो पटक ग्यास चुल्हो प्रयोग गर्न थालेकी अर्की स्थानीय सरिता शाहीले भान्सामा दाउरा प्रयोग गर्दा आगो फुक्न झन्झट हुने गरेकोमा अब सजिलो भएको बताइन्।
पछिल्लो समय खाना पकाउने ग्यास प्रयोग गर्ने स्थानीय बढेको सिमकोट हुम्लाका ग्यास पसल सञ्चालक लोकेन्द्र शाहीले बताए।
मुगुको गमगढीबाट तीनदेखि चार दिन खच्चडमा बोकाएर ल्याउन पर्दा हुम्लामा ग्यास महँगो पर्ने गर्छ। प्रतिसिलिण्डर १४ हजार तिरेर ग्यास प्रयोग गर्ने सेवाग्राही दिनदिनै बढिरहेको व्यापारी शाहीले बताए।