
काठमाडौं – तीन वर्षअघिको भूकम्पले धेरै चिज ढलायो । धेरै भत्कायो अनि ९ हजारको हाराहारीमा मानिसको ज्यान गयो ।
बाँच्नेहरुमा पनि डर बनेर बस्यो भूकम्प र त्यसले दिएको विनाश । यस्तोमा यस्तो एउटा सम्पदा जसले आफूलाई मात्रै होइन देख्ने र सुन्ने सबैलाई अग्लो भएको महसुस गराउँथ्यो, त्यो भने अहिलेसम्म उठ्ने सुरसारमा छैन । धरहरा ।
धेरैको आशको धरोहर । उचाईको सक्लो प्रतिक, जसले आफूलाई १९९० को भूकम्पमा पूरै सक्लो नभए पनि अग्लिन चाहिने जति अग्लो राखेको थियो । तर तीन वर्षअघिको भूकम्पमा जोगिन सकेन । ढल्यो ।
वर्षौँसम्म गनी नसक्ने स्वदेशी अनि विदेशीलाई काठमाडौं खाल्डोलाई माथिबाट निल्याने माध्यम बनेको धरहरा भूकम्पदेखि भने जमिनमै मिसिएको छ ।
धेरैलाई आकाशै छोएको वा अग्लो भएको महसुस गराएको धरहरा होचिएको वा उचाई बिहीन भएको तीन वर्ष भयो । तर अरुलाई उठाएको धरहरा आफै समस्यामा पर्दा भने अहिलेसम्म ध्यान पुग्न सकेको छैन ।
अरु सम्पदाहरुको विवाद नै भए पनि पुनर्निर्माण सुरु भयो । केही त बनी पनि कसे । तर धरहराले पूर्णरुपमा भत्किएर सुन्धारा हुँदै हिँड्ने पाइलाहरु नियाल्न थालेको ठ्याक्कै तीन वर्ष भयो । सरकारले मेरो धरहरा म बनाउँछु भन्ने अभियान सुरु गर्यो ।
८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको धरहरा पुनर्निर्माणका लागि १० करोड जति जम्मा पनि भएको छ । तर अहिलेसम्म धरहरा कसैको पनि हुन सकेको जस्तो देखिँदैन । पुरानै कला झल्किने गरी बनाउने त भनिएको छ तर कामले गति हैन सुरु हुने बाटो नै नपाए जस्तो छ ।
तीन वर्ष भइसक्दा पनि भत्केको धरहरा सुन्धारा चोकमा बनाइएको सानो नमुना धरहरालाई नियाल्दै बस्न बाध्य छ ।