सामाजिक सञ्जालबाट बालबालिकामा यौन शोषण बढ्यो

सामाजिक सञ्जालबाट बालबालिकामा यौन शोषण बढ्यो
+
-

काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जालका कारण बालबालिकामाथि हुने हिंसा बढेको एक तथ्यांकले देखाएको छ। सिविन नेपालले नेपालमा बालबालिकामाथि हुने अनलाइन यौन शोषण सम्बन्धमा गरेको अध्ययनले बालबालिका तथा किशोर किशोरीमाथिको यौन हिंसाा बढेको देखाएको हो।

९ वर्षदेखि १९ वर्ष उमेर समूहका १ हजार ७ सय १४ जना बालबालिका तथा किशोर किशोरीहरुमा गरिएको अध्ययनले सामाजिक सञ्जालमा नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउनका लागि दबाब दिने गरिएको देखाएको छ। तथ्यांकका अनसार यस्तो दबाब  झेल्नेहरुमा केटीहरुको तुलनामा केटाहरुको संख्या अधिक रहेको छ।

बालबालिकामाथि दबाब दिनेमा पनि महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको छ। अध्ययनका अनुसार ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्ष रुपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई दबाब दिने गरेको पाइएको छ। दबाब दिनेमा आफ्नै साथी, आफन्त, प्रेमी–प्रेमिका, नजिकका साथी तथा अपरिचितहरु पनि रहेको तथ्यांकको निष्कर्ष छ।

अध्ययनमा कुल सहभागीहरुमध्ये १३७ (७.९९ प्रतिशत) जनालाई क्यामेरा अगाडि नग्न देखिन दबाब दिइएको थियो। यस्तो दबाब खेप्नेहरुमध्ये ५८ (६२ प्रतिशत) जना केटा, ४७ (३४.३१ प्रतिशत) जना केटी र २ जना (१.४६ प्रतिशत) लैंगिक अल्पसंख्यक समुदायका रहेका छन्।

यसैगरी सामाजिक सञ्जालका माध्यमबाट अपरिचित व्यक्तिहरुलाई भेट्न गएकाहरु कुनै न कुनै रुपमा यौन शोषणमा परेको अध्ययनले देखाएको छ। अध्ययन गरिएका कुल सहभागीमध्ये ४५७ जना (२६.६६ प्रतिशत) लाई सामाजिक सञ्जालका माध्यमबाट भेट्न भनिएकोमा १६३ जनालाई प्रत्यक्ष भेट्न भनिएको थियो।

त्यसमध्ये १५४ जना (३३ प्रतिशत) ले प्रत्यक्ष भेटेका छन्, भेट्नेमध्ये केटा ६५.५९ प्रतिशत र ३३.२४ केटी रहेका छन्।

अध्ययन समूहका कुल उत्तरदाताहरुमध्ये ३४० जना (१९.८३ प्रतिशत)ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन्। यौन शोषणमा पर्नेमा केटाको संख्या केटीको तुलनामा बढी छ।

अनलाइन यौन शोषणमा परेकाहरु उत्तरदाताहरुमा ठूलो मात्रामा मानसिक असर देखिएको सिविन नेपालले जनाएको छ। सिविनका अध्ययन रिपोर्ट प्रस्तुतकर्ता टंक सुब्बा माबुहाङले रिपोर्ट प्रस्तुतिका क्रममा कतिपय उत्तरदाताहरुले आफू मानसिक रुपमा समस्यामा परेको, पढाइमा ध्यान दिन नसकेको, मर्न मन लागेको बताएको उल्लेख गरे।

यसरी सामाजिक सञ्जालमार्फत यौन शोषणमा परेका ३४० उत्तरदाताहरुमध्ये ४८ (१४.१२ प्रतिशत) जनाले विद्यालय छाडेको तथ्यांकमा उल्लेख छ। तीमध्ये १५ जनाले मात्र परामर्श सेवा खोजी गरेका थिए भने ९ जनाले मात्र परामर्श सेवा पाएको सिविन नेपालले जनाएको छ।

यस्ता क्रियाकलापहरु गर्नेलाई दण्ड सजाय हुने जानकारी कुल उत्तरदाता मध्ये १०७५ (६२.७१ प्रतिशत) जनालाई रहेको तथ्यांकले देखाएको छ। जानकारी भएपनि बालबालिका यौन शोषणबाट भने बच्न नसकेको सिविन नेपालको भनाइ छ।

साइबर बुलिङको अवस्था


उक्त अध्ययनका कुल उत्तरदातामध्ये २५३ (१४.७६ प्रतिशत ) जना साइबर बुलिङको शिकार भएको तथ्यांकमा देखिएको छ। यीमध्येका १७५ (१०.२१ प्रतिशत) जनाले आफ्ना अभिभावकलाई इन्टरनेट तथा सामाजिक सञ्जालको बानीका बारेमा बताए पनि साइबर बुलिङको सामना गर्नु परेको तथ्यांकमा उल्लेख छ।

तथ्यांकका अनसार साइबर बुलिङका घटना सबैभन्दा बढी बागमती प्रदेशको काठमाडौँ र मकवानपुरमा २७ प्रतिशत रहेको छ। यस्तै दोस्रोमा प्रदेश नम्बर २ को धनुषमा १८ प्रतिशत रहेको छ। यसैगरी गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको बाँकेमा १३ प्रतिशतका दरले बालबालिका तथा किशोर किशोरीहरुमा साइबर बुलिङ भएको पाइएको छ।

अध्ययनमा सहभागी कुल बालबालिका तथा किशोर किशोरीमध्ये ६३.०१ प्रतिशतको सामाजिक सञ्जालमा खाता रहेको अध्ययनले जनाएको छ। उनीहरुमध्ये सामाजिक सञ्जाल तथा इन्टरनेट दैनिक १ देखि २ घण्टा प्रयोग गर्ने ४०.३७ प्रतिशत, ६ घण्टाभन्दा बढी चलाउने ०.७६ प्रतिशत रहेका छन्।

अधिकांशले इन्टरनेटमा यौनजन्य सामाग्री हेरेको साविन नेपालले जानकारी दिएको छ। कतिपयलाई यसको बानी परेको र यौनजन्य सामाग्री हेर्नेमा बालकको संख्या बढी रहेको अध्ययनले जनाएको छ।

अध्ययनमा सहभागीहरुमभ्ये १ हजार ४ सय ८८ (८६.८१ प्रतिशत) जना इन्टरनेट सुरक्षाकाबारेमा केही जानकार रहेको अध्ययनले देखाएको छ।

सिविनले अनलाइन यौन शोषणका घटनाहरु सामाजिक सञ्जालको अवास्तिविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म पुगेको र यसरी यौन शोषणमा पर्नेहरुमा बालिका/किशोरीभन्दा झण्डै दोब्बर संख्या बालक/किशोरहरुको रहेको सिविनले जनाएको छ।

सिविनले बालबालिका, किशोरकिशोरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई सामाजिक सञ्जालमार्फ हुने यौन शोषणबाट बचाउन ठोस कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ।

उनीहरुको सुरक्षासँगै बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा पनि सोच्नुपर्ने बेला आएको सिविनले जनाएको छ।

बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि बालबालिकाको इन्टरनेटमा पहुँच बढेको र त्यससँगै जोखिम पनि उत्तिकै बढेको बताइन्।

उनले बालबालिका तथा किशोर किशोरीहरुले अनलाइनमार्फत अपरिचित व्यक्तिसँग चिनचान गर्ने, सम्बन्ध गाँस्ने लगायतका क्रियाकलाप हुने भएकाले यौन शोषणको शिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने बताइन्।

उनले भनिन्, ‘अध्ययनले बालकहरु धेरै यौन शोषणमा परेको देखाएको छ। बालबालिका यस्ता घटनामा परेपछि सहयोग माग्न हिच्किचाउँछन्। आफ्नो कुरा कसैलाई भन्न सक्दैनन्। हामीले परिवारमा त्यस्तो वातावरण पनि सिर्जना गरेका हुँदैनौँ। लकडाउनपछि धेरै बालबालिका अनलाइन यौन शोषणमा परेका छन्।’

बालबालिकाले अनलाइनमा पढाइ बाहेक अरु के गरिरहेका छन् भनेर परिवारले पनि समय दिनुपर्नेमा उनले  जोड दिइन्।

‘कोरोना भाइरसले गर्दा बालबालिकाले अनलाइनका माध्यमबाट पढ्नु पर्‍यो। तर परिवारले आफ्नो बच्चा पढाइ बाहेक अरु के गरिरहेको छ त्यो साथमै बसेर हेर्नु पर्‍यो। समय दिनु पर्‍यो। अनलाइनमार्फत हुने हिंसा पनि अपराध नै हो भन्ने धेरैले बुझेका हुँदैनन्। हामीले त्यो बुझाउने काम गरिरहेका छौँ,’ उनले भनिन्।

उनले सम्बन्धित निकायलाई पनि यसबारे ध्यान दिन आग्रह गरिन्। साथै यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उनको भनाइ छ।

सिविनका अनुसार नेपालको कुल जनसंख्या मध्ये १ करोड २१ लाख (३५ प्रतिशत) नेपालीहरु इन्टरनेट प्रयोगकर्ता रहेको र करिब एक करोड मानिस सामाजिक सञ्जाल प्रयोगकर्ता रहको छन्। जसमा इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिका तथा किशोर किशोरीको संख्या उल्लेख्य रहेको सिविनले जनाएको छ।

सिविन नेपालले इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकामा परेको प्रभावका बारेमा सन् २००८ मा नेपालमा पहिलो पटक नेपाली बालबालिकाको इन्टरनेट व्यवहार र जोखिम सम्बन्धी अध्ययन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?