
सिमकोट-हिमाली जिल्लामा हुम्लामा टर्की पालन फस्टाउदै आएको छ। नमूना रुपमा पालन गर्दा राम्रो भएपछि ब्यबसायीक रुपमा टर्की पालन सुरु भएको हो।
गतवर्ष पन्द्र वटाबाट टर्की पालन सुरु गरेका एसएस अर्गानिक एग्रो फर्म प्रालिका सञ्चालक शक्तिसिंह ऐडीले यस वर्ष दुई सय पचासवटा टर्की खरिद गरेर ल्याई ब्यबसायीक रुपमा पालन सुरु गरेका हुन।
हुम्लामा टर्कीको व्यावसायिक पालन पहिलो पटक सुरु गरिएको हो । तारजालीले घेरवार गरेर दिउँसो चराउने व्यवस्था गरिएको छ भने रातीको लागि खोरको व्यवस्था गरिएको छ।
उनले पहिलो वर्षको नमूना पालन सफल भएको हुँदा यसलाई ब्यबसायीक पालन सुरु गरिएको बताए । प्राबिधिकको सल्लाह अनुसार फर्म कै रुपमा टर्की पालन सुरु गर्दा फस्टाउने क्रममा रहेको उनले जानकारी दिए।
कुल लगानी मध्य कर्णाली प्रदेश सरकारबाट साढे चार लाख लगानी रहेको छ भने बाँकी ऐडी आफ्नै लगानी रहेका छन्। हाल पचास वटाले अण्डा दिने क्रममा रहेका छन् । पचास वटा टर्की भाले र अन्य पोथी फर्ममा रहेका छन्।
टर्कीका लागि आबश्यक दाना सुर्खेत, नेपालगंज र केही स्थानीय रुपमा खरिद गरेर चलाउने गरिएको ऐडीले जानकारी दिए । हालसम्म पचास वटा टर्की प्रतिकेजी एक हजार चारका दरमा बिक्री गर्ने गरिएको छ।
मासु स्वादिलो हुने हुदा माग पनि बढ्दै गएको छ । फर्ममा काम गर्ने तीन जनालाई रोजगारी पनि दिईएको छ । यस वर्ष त्यो संख्या अझै बृद्धि गर्ने उनले बताए ।