
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ। दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई रिहा गर्न माग गरेका हुन्।
नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको नेकपाको भनाइ छ।
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुदको कसुर देख्ने गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता बाहेक केही होइन। हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ,’ नेकपा दाहाल–नेपाल समूहको तर्फबाट प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।