लौ हुइँकियो, हुइँकियो केकी एक्सप्रेस

+
-

काठमाडौं- गैरीधाराको स्टेशन फाइभ रेस्टुरेन्टको गेटबाट घुरुरु गर्दै सेतो रंगको स्कुटर भित्र छिर्‍यो। समय बिहान १० बजेर १५ मिनेट गएको छ। हलुका घ्यू रंगको टिसर्ट र कालो प्यान्ट अनि सिल्भर कलरको जुत्ता लगाएकी अभिनेत्री केकी अधिकारी स्कुटरबाट ओर्लिइन् र सोधिन्, ‘नमस्कार, सञ्चै हुनुहुन्छ?’

अभिनेत्री केकी अधिकारी एकदमै साधारण देखिएकी थिइन्। जति साधारण उनको रुप देखिएको थियो, उस्तै उनको स्वभाव। भिडियो अन्तर्वार्ता हो भन्ने थाहा पाएपछि उनले भनिन्, ‘म टच अप गरेर आउँछु।’ उनको बोल्ने तरिका सारै सरल, पहिलोपल्ट भेट्ने व्यक्तिलाई पनि पहिलेदेखि नै राम्ररी चिनेको जस्तो लाग्ने।

अन्तर्वार्ताको लागि फ्रेम मिलाउँदै गर्दा अगाडि बसेका कोहलपुर एक्सप्रेसमा जोडी बनेका विनोद न्यौपानेसँग चलचित्रकै बारेमा कुरा गर्दै थिइन् । उनले निर्माण गरेको पहिलो चलचित्र कोहलपुर एक्सप्रेस शुक्रबार प्रदर्शनमा आएको छ। केकीले भनिन्, ‘जीवनको गति एक्सप्रेस बनाएको छ।’

अधिकारी म्युजिक भिडियोबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन्। उनको करियर सुरु भएको १० वर्ष भयो। एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाएपछि काम गर्न सजिलो हुने उनले बताइन्, ‘सबैलाई याद हुन्छ, सानो बजार छ कामको लागि दुख हुन्न।’ उनलाई म्युजिक भिडियोमा काम गर्दागर्दै चलचित्र खेल्ने अवसर पनि आएको थियो । त्यतिबेला पढाई पहिलो प्राथमिकतामा पर्‍यो।

उनलाई निर्देशक प्रसन्न पौडेलले म्यूजिक भिडियोमा डेब्यू गराएका थिए, तिनै निर्देशकले चलचित्रमा अभिनय गर्ने अवसर दिएपछि केकीले नाइँ भनिनन्। ‘स्वर’ बाट चलचित्र नगरीमा पाइला राखिन्। त्यसपछि उनले फर्केर हेर्नु परेको छैन।

झण्डै १० वर्षको आफ्नो करियरमा उनले मोडलबाट अभिनेत्री अनि निमार्ताको भूमिकामा छलाङ्ग मारेकी छिन् । निर्मात्री बन्न हतार गरेको हो भन्ने पनि उनलाई लाग्दैन। ‘महिलाहरुको जीवनमा एक समयमात्र हो आफ्नो करियरमा फोकस हुने, पछि प्राथमिकताका विषयहरु फेरिन थाल्छन्,’ उनी भन्छिन्, ‘सहि समय आउँछ भनेर पर्खनु भन्दा यहि सहि समय हो भनेर हिम्मत लिएकी हुँ ।’ नयाँ खालको काममा हात हाल्न उनलाई साहस पनि आउँछ ।

उनी अरुलाई चित्त दुखाउनुहुन्न भन्ने कुरामा सारै ध्यान राख्छिन् र सकेसम्म नराम्रो बोल्दिनन् । उनका साथी पनि धेरै छन् । साथीहरुले उनलाई साँचो प्रतिक्रियाको लागि सम्झन्छन् रे ।
उनलाई बौद्धिकको ट्याग लगाएर भारी बोकाएको जस्तो लाग्छ । ‘सर्टिफिकेटको आधारमा भनिएको हो भने त्यो गलत हो, बोल्ने तरिका अलि डिप्लोम्याटिक भएकाले भन्नुभएको हो कि?’ सुन्ने बानी धेरै भएको बताउने उनी भन्छिन्, ‘यसले मलाई म हुनबाट रोक्छ कि जस्तो लाग्छ ।’ फाइदा र बेफाइदा दुवै छ तर हरेक समारोहमा जाँदा बौद्धिक भनिएको छ भनेर याद गर्नुपरेको उनले बताइन् ।

उनको पहिलो लगानी व्यावसायिक चलचित्रमा भएको छ । ‘लगानी गरेपछि फलको प्रतिफलको आशा त हुन्छ नै,’ उनी भन्छिन्, सबै सामाजिक विषय नै हुन्, तर हास्यव्यंग्यलाई विषयवस्तु नबनाए लगानी डुब्ने जोखिम पनि हुन्छ।’ उनी नतिजा जस्तो आएपनि केही फरक नपर्ने गरी पहिला बलियो हुन चाहन्छिन् अनि मात्र वास्तविक जीवनमा आधारित वृत्तचित्र जस्ता चलचित्र बनाउन चाहन्छिन् । सेतो सूर्य, कालो पोथी जस्ता चलचित्रको उनमा छाप पनि परेको छ ।

नेपाली फिल्म नगरीमा चलचित्र पस्कने शैलीमा अझै विकास गर्नेुपर्ने अधिकारीलाई लाग्छ । हिन्दी चलचित्रको उदाहरण दिएर उनले भनिन्, ‘थ्री इडियट्स, मुन्ना भाई एमबिबियस जस्ता चलचित्रले उठान गरेका मुद्दालाई उनीहरुले दर्शकको चाखको साथ प्रस्तुत गरेका छन्, हामी त्यस हिसाबमा धेरै पछाडि छौ, स्क्रिप्टमा धेरै काम गर्न बाँकी छ।’

केकी फिल्म प्रचारको लागि धेरै लागि परिरहेकी छिन् । उनले मानव संसाधन व्यवस्थापनमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरिसकेकी छिन् । कोहलपुर एक्सप्रेसको लागि उनले मार्केटिङको नयाँ नयाँ तरिका अपनाएकी छिन् । केहि दिन अगाडि पिज्जा डेलिभरी गरेर उनले फिल्मको प्रचार गरेकी थिइन् । बिहीबार उनको योजना शहरमा माइकिङ गर्दै हिड्ने थियो । उनलाई सहयोग गर्नलाई चलचित्रका जोडी नायक बिनोद न्यौपाने सँगै थिए ।

उनले पिज्जा डेलिभरी गर्न जाँदा नर्भस भएको पनि सुनाइन्। चलचित्र निर्माणको बेलादेखि नै केकीले आफूलाई आमा हुन लागेको अनूभूति भइरहेको बताएकि थिइन्। उनकै बोलीलाई टिपेर भन्नुपर्दा शुक्रबार उनको प्रशव पीडाको अन्त्य हुने दिन हो। हेर्न बाँकी नै छ कति सन्तुष्टिका साथ टुंगिन्छ ।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?