
काठमाडौँ – कर्णाली उत्सवको दोस्रो संस्करण आगामी फागुन २६ देखि २९ गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ।
उत्सवमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु रावतबीचको बहस हुने भएकाे छ।
पत्रकार दिलभुषण पाठकले ‘मुख्य माण्ठ, मूल कुडा’ सेसनमा शाही र रावतबीच बहस चलाउने निश्चित भएको उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए।
विकासका दृष्टिकोणले पछाडि परेका यी दुवै प्रदेशका मुख्यन्त्रीहरुले आफू नेतृत्वको सरकारले हालसम्म प्राप्त गरेका उपलब्धी, भोगाई र चुनौतिबारे बताउने छन्।
गत वर्षको संस्करणमा मुख्यमन्त्री शाही व्यस्तताको कारण देखाउँदै सहभागी भएका थिएनन् । ऋति फाउण्डेसनको संयोजनमा आयोजना हुने उत्सवका लागि कर्णाली प्रदेशको मुख्य प्रायोजन छ। उत्सवमा कर्णालीका सवालसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुने गर्छ।
त्यसका लागि कर्णालीमै रहेर विभिन्न क्षेत्रमा योगदन पुर्याइरहेका र अन्य ठाउँमा रहेका व्यक्तिहरुलाई एउटै मञ्चमा उभ्याइने गरिन्छ। कर्णालीको इतिहास, भाषा, कला र साहित्यको प्रस्तुतिको थलोको रुपमा पनि यो उत्सव चिनिन थालिएकाे छ।
यस्तै कर्णालीका आर्थिक र सामाजिक अवसरको पहिचान गर्ने, राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाउने माध्यम पनि यो उत्सव बनेको छ।
लम्साल भन्छन्,‘हामीले यो उत्सवलाई सामाजिक सेवाका रुपमा लिने गरेका छौँ। हाम्रो एउटै ध्येय कर्णालीलाई आर्थिक, शैक्षिक, पर्यटकीय, सामाजिक र राजनीतिक रुपमा कसरी माथि उठाउने भन्ने हो।’
‘कुडा कर्णाली’का भन्ने नाराका साथ हुने उत्सवमा मुलुकभरबाट पत्रकार, साहित्यकार, कलाकार र विज्ञहरुको सहभागी हुने आयाेजकले जनाएकाे छ। उत्सव वीरेन्द्रनगरको बुलबुलेमा हुनेछ ।