
सिमकोट– दुरदराजका जनताहरुलाई नागरिकता लिन पैदल हिँड्नु पर्ने बाध्यता कायमै रहेको छ।
सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयबाट मात्र नागरिकता लिन पाइने हुँदा सडक यातायात नजोडिएको हुम्लामा नागरिकता लिन दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता आएको हो।
नागरिकता नभइ नहुने भएपछि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर नागरिकता लिएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ को राम गाउँका स्थानीय खड्क बहादुर शाहीले बताए।
नागरिकता लिन आउन गाह्रो भएपनि प्रशासन कार्यालयबाट समयमै नागरिकता प्राप्त हुँदा खुसी लागेको उनले बताए।
त्यसैगरि नागरिकता लिन आएका सोही गाउँका कपिन्द्र शाहीले गाउँमै नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताए। नागरिकता बनाउन आउँदा आर्थिक व्यभार बढी हुने उनले बताए। ‘गाउँगाउँमा सिंहदरबार’ भनेर नेताहरुले भाषण गरेपनि नागरिकता लिनै सकस भएको उनको गुनासो छ।
सदरमुकाम आउन जान दुई–दुई दिन र सदरमुकाममा थप एकदिन गरी पाँच दिन लाग्ने हुँदा आर्थिक अभाव हुने उनीहरुको गुनासो छ।
यसअघि वर्षको एक पटक जिल्ला प्रशासन कार्यालयबाट घुम्ती शिविर सञ्चालन गरेर नागरिकता गाउँमै गएर वितरण गर्ने गरिएको थियो। यसपटक भने कोरोनाका कारण त्यस सम्भव नभएको प्रशासनको भनाइ छ।
कर्मचारी अभाव भएको कारण टोली गाउँमा जान नपाएको र सेवाग्राहीले नागरिकता लिन पैदल हिँडेर आउने पर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए।
ताँजाकोट गाउँपालिका मात्र होइन हुम्लाका अदानचुली, सर्केगार्ड, चंखेली र नाम्खा गाउँपालिकाका स्थानीयलाई पनि एकदेखि चार दिन पैदल हिँडेर नागरिकता बनाउन सदरमुकाम आउनु पर्ने बाध्यता छ।