
सिमकोट– कर्मचारीको अभावमा हुम्लामा रहेका सरकारी कार्यालयहरुले सूचना अधिकारी तोक्न समस्या भएको गुनासो गरेका छन्।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सूचना अधिकारी तोक्न नसकेको बताए।
सहायक प्रजिअको सरुवा भएर गएर तर गृह मन्त्रालयले अर्को विकल्प नगरेको कारण सूचना अधिकारी तोक्न कठिन भएको प्रजिअ गिरीले बताए। हाल जिप्रकाको सूचना आफैले उलब्ध गराउने गरेको उनले बताए।
यस्तै शिक्षा विकास तथा समन्वय इकाईमा पनि कार्यालय प्रमुख र सहयोगी कर्मचारी मात्र हुँदा सूचना अधिकारी तोक्न समस्या भएको प्रमुख बिष्णु बहादुर शाहीले बताए।
एक महिना अगाडि जिल्ला प्रशासन कार्यालयले सबै कार्यालयलाई सूचना अधिकारी तोकेर जानकारी गराउन पत्राचार गरेको भएपनि कुनै कार्यालयबाट उक्त जानकारी नआएको प्रशासन कार्यालयले जनाएको छ।
नियम अनुसार सरकारी कार्यालयहरुले अनिवार्य रुपमा सूचना अधिकारी तोक्नु पर्ने व्यवस्था छ। तर हुम्लामा अधिकांश संघीय सरकारका कार्यालयले कर्मचारीको अभावमा सूचना अधिकारी तोक्न सकेका छैनन्।
जिल्लामा २० वटा संघीय सरकारका कार्यालय भएपनि सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुमा कर्मचारी अभाव भएको कारण सूचना अधिकारी तोक्न समस्या हुँदै आएको कार्यालय प्रमुखहरुले जनाएका छन्।
कार्यालयमा सूचना अधिकारी नभएपछि सेवाग्राहीहरुलाई सूचना लिन कठिन हुने गरेको छ।