
सिमकोट – हिमाली जिल्ला मुगुकोे एक स्थानीय तहले आफनो क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ।
मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले आफना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको हो।
नगरपालिकाले एक औपचारिक कार्यक्रम गर्दै नगर क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। एकल भत्ता बुझ्न आएका एकल पुरुषहरुले एकल महिलाझैँ आफूहरुले पनि भत्ता पाउदा खुशी व्यक्त गरेका छन्।
वडा नं १४ का ५० वर्षीय जुद्घ बढुवालले राज्यले एकल महिलालाई भत्ता, वृद्द भत्ता, बालबालिका भत्ता दिँदै आए पनि श्रीमतीको मृत्यु भएर वा विवाह नगरेर बसेका एकल पुरुषलाई भत्ता दिन सुरु गरेकोमा खुशी व्यक्त गरे।
संघीय र प्रदेश सरकारले वास्ता नगरे पनि स्थानीय सरकारले भत्ता दिएपछि आफूहरु खुशी भएको उनले बताए।
छायानाथ रारा नगरपालिका वडा नं १ का ५३ वर्षीय कृष्ण बहादुर हितानले भक्ताको रकमले बाल बच्चाको शिक्षा, पालनपोषण र घर खर्च चलाउन सहज हुने बताए।
छायाँनाथ रारा नगरपालिकाले ४० वर्ष भन्दामाथि र ६० वर्ष मुनिका एकल पुरुषहरुलाई मासिक पाँच सयका दरले वार्षिक ६ हजार एकल पुरुष भत्ता वितरण सुरु गरेको हो।