स्याफ्रुबेसी- भूकम्पपछि अस्थाई संरचनामा पढ्दै आइरहेका विद्यार्थीले डिजिटल स्कुलमा पढ्न पाउने भएका छन्। नर्वेजियन र जर्मन राजदूतावासको सहयोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालयमा प्रोजेक्टर जडित १२ कोठे भवन निर्माण भए पनि प्रविधिका माध्यमबाट पढ्न सम्भव भएको हो।

प्रोजेक्टर जडित कक्षा कोठामा नर्वेजियन र जर्मन राजदूत लगायत
विद्यालयले बिगत ३ वर्ष देखि जस्ताका अस्थाई संरचनामा अध्यापन गराउँदै आएको थियो।
बिगत सम्झिदै विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले भावुक हुँदै भने, ‘ फेरी यस्तो संरचनामा यहाँ पठनपाठन गराउन सकिएला जस्तो लागेको थिएन तर स्थानीय जनता, राजनीतिक दल, दातृ निकाय लगायतको सहयोगमा हामीले विगतको भन्दा निकै राम्रो भौतिक पूर्वाधार पाएका छौं।’
२०७२ बैशाख १२ को भूकम्प अघि कोमिन र श्यामेवाङफेल अलग अलग विद्यालय थिए। भूकम्पले कोमिन प्राथमिक विद्यालयको संरचना ध्वस्त बनायो भने श्यामेवाङफेल माध्यामिक विद्यालय पहिरोको चपेटापा पर्यो। विनाशकारी भूकम्पको एक वर्ष अगाडि मात्र निर्माण भएको श्यामेवाङफेलको नयाँ भवनमा भूकम्पले खासै क्षति पुर्याएको थिएन तर स्कुल माथिको नाङ्गो डाडाँबाट निरन्तर सुक्का पहिलो जान थाले पछि स्कुलमा पढ्न र पढाउन सकिने अवस्था भएन। ठुला ठुला ढुंगा खस्न थाले। विद्यालयमा शिक्षक विद्यार्थी जान सक्ने अवस्था थिएन। गत वर्ष देखि मात्र पहिरो जान केहि कम भएको छ।

पहिरोले असर गरेको श्यामेवाङफेल माध्यामिक विद्यालय भवन।
गोसाइँकुण्ड गाउँ पालिका ५ मा रहेका दुई स्कूल कोमिन र श्यामेवाङफेलमा पढाई सुरु हुन् सकेको थिएन। कोमिनको भवन भत्किएको थियो भने श्यामेवाङफेलको भवनमा जान सकिने अवस्था थिएन।
त्यसपछि जिल्ला शिक्षा कार्यालयले दुवै विद्यालयलाई मर्ज गर्ने प्रस्ताव गर्यो। भूकम्पपछि रसुवामा धेरै विद्यालय मर्ज भएका छन्। भूकम्प भन्दा अगाडि ९७ विद्यालय रहेकोको रसुवामा हाल ८९ विद्यालय रहेको जिल्ला शिक्षा समन्वय एकाई प्रमुख होम नाथ अधिकारीले जानकारी दिए।
कोमिन र श्यामेवाङफेलमा पनि विद्यार्थी चाप घटेकाले तत्कालिन जिल्ला शिक्षा कार्यालय ( हाल नाम परिवर्तन भई रहेको जिल्ला शिक्षा समन्वय एकाई भएको) को स्कुल मर्ज गर्ने प्रस्तावमा स्थानीयहरुले सहमति जनाए र नयाँ स्कुलको नाम राकियो श्री कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालय।
स्कुलको नाम जुटाउन र मर्ज गर्न जति सजिलो भयो त्यो भन्दा निकै ग्राह्रो भयो स्कुलका लागी जग्गा खोज्न।
कोमिनसँग प्रयाप्त जग्गा थिएन; श्यामेवाङफेलको जग्गामा जान सकिने अवस्था थिएन।
स्थानीयहरुले चिलिमे जलबिद्युत आयोजनासँग जग्गा दिन आग्रह गरे र चिलिमे पनि जग्गा दिन राजी भयो। विद्यालयका प्रधानाध्यापक लामिछानेले भने, चिलिमेले पनि स्थानीयबाट अधिग्रहण गरेको जग्गा विद्यालयको नाममा नामसारी गर्न नमिल्ने रहेछ र बिचको बाटो निकालियो। चिलिमेले १० रोपनी जग्गा विद्यालयलाई भोगाधिकार गर्न दियो।
चिलिमेले दिएको जग्गामा जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति लगायतको सहयोगमा अस्थाई संरचना निर्माण भए र बिद्यार्थीले पढ्न पाएका थिए।

अस्थाई कक्षा कोठा
विद्यालय प्रशासन स्थाई संरचना निर्माणका लागि दाताको खोजीमा थियो। र भूकम्प गएको करिव डेढ वर्ष पछि जर्मन विकास नियोग (जीआईजेड) विद्यालयसँग जोडिन पुग्यो।
जीआईजेडका उप-प्रमुख प्राविधिक सल्हाकार सन्तोष बिष्टले भने, ‘हामीहरु भूकम्प पछिको राहत र पुनर्स्थापनाको काम गरिरहेका थियौं। नर्वेजियन राजदूतावासले शिक्षाका क्षेत्रमा काम गरिरहेको थियो, भूकम्प पछि उनीहरुले शिक्षाका क्षेत्रमा थप काम गर्न चाहेको प्रस्ताव गर्यो। निर्माणका क्षेत्रमा हाम्रो अनुभव राम्रो थियो, पहिलो चरणको राहत पछि धादिङ, नुवाकोट र रसुवामा स्वास्थ्य चौकी निर्माण गरिरहेका थियौं त्यसैले शिक्षाका क्षेत्रमा काम गर्ने हो भने विद्यालय भवन बनाउन सकिने प्रस्ताव नर्वेजीयन राजदुतावासमा पेस गर्यौं।’
बिष्टले अगाडि भने, ‘अरुले काम गरिरहेको ठाउँमा सानो सानो काम गर्ने गरि हामी जादैनौं र विद्यालयलाई पुग्ने गरि संरचना बनाउनु पर्छ भन्ने हाम्रो सर्त थियो। हाम्रो सर्तमा उनीहरु राजी भए र हामीले काम गरिरहेका ३ जिल्लामा १४ विद्यालय भवन बनाउने सम्झौता भयो।’
स्याफ्रुमा राहत र पुनर्स्थापनाको काम गरिहेका थियौं, कोमिन र श्यामेवाङफेलको अवस्थाबारे जानकार थियौं, बिष्टले भने। र हामीले २०७३ मङ्सिर २८ मा कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालय सँग मूल्य अभिबृद्धि कर बाहेक ३ करोड ६८ हजारको लागतमा १२ कोठाको भवन निर्माण गर्ने सम्झौता गर्यौं।

नवनिर्मित विद्यालय भवन
सम्झौतापछि १ वर्ष ४ महिनामा भवन बनेको छ। जीआईजेडको दाबी छ, भवनको गुणस्तरमा कुनै सम्झौता गरेको छैन, भवन भूकम्प प्रतिरोधी छ, विद्यार्थीले सुरक्षीत भएर पढ्न पाउने छन्।
भवन निर्माणमा स्थानीयको प्रयोग
स्थानीय सिकर्मी डकर्मीलाई भूकम्प प्रतिरोधी तामिल दिएर भवन निर्माणमा लगाईएको जीआईजेडको भनाई छ। स्थानीय स्तरमा नपाएका कामदार मात्र बाहिरबाट ल्याएका जीआईजेड प्रतिनिधिले बताए।
कक्षा १ देखि १२ सम्म पढाई हुने कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालयमा ११ र १२ मा व्यवस्थापन र शिक्षा संकायका साथैं इलेक्ट्रोनिक सभ-ओभरसियर ( टि-एसएलसी) को पनि पढाई हुन्छ। एसईईमा ई ग्रेड ल्याउने पनि इलेक्ट्रोनिक सभ-ओभरसियर पढ्न पाउँछन्। विद्यार्थीले एक साथ इलेक्ट्रोनिक सभ-ओभरसियर र ११/१२ मा पनि पढ्ने गरेको विद्यालयले जनाएको छ। हाल इलेक्ट्रोनिक सभ-ओभरसियर पढ्ने विद्यार्थी ३० जना रहेका छन्। ती मध्ये आधा सभ-ओभरसियर र ११ कक्षामा पढ्ने गर्छन।

सव-इलेक्ट्रोनिक ओभरसियर र कक्षा ११ मा एक साथ अध्यनरत विद्यार्थी
विद्यालयको नवनिर्मित भवनमा इलेक्ट्रोनिक सभ-ओभरसियर पढ्ने विधार्थीले नै विद्युत वाइरिङको काम गरेका थिए। इलेक्ट्रोनिक सभ-ओभरसियर र ११ कक्षामा एकै साथ अध्यनरत किपा साङमो तामाङले भनिन्, सरहरुले सिकाउनु हुन्थ्यो, हामीहरुले काम गर्ने गर्थ्यौं। किपा सँगै अध्यनरत शर्मिला घलेले स्कुलमा काम गरेपछि अब त घरमा गएर पनि वाइरिङ गर्ने सक्ने आट आएको बताईन।
यस्तै कक्षा कोठाका लागि आवश्यक पर्ने डेक्स बेन्च पनि स्थानीयहरुनै बनाईरहेका थिए। जिआईजेडले सुनौलो नेपाल र पिस टेक्निकल सँगको सहकार्यमा १८ जनालाई फर्निचर बनाउने तालिम दिइरहेको थियो।

विद्यालयका आवश्यक पर्ने फर्निचर बनाउने तालिममा सहभागीहरु
कोमिन श्यामेवाङफेलबाटै गत महिना एसईइ परिक्षामा सहभागी भएका ५ जना विद्यार्थीहरु फर्निचर बनाउने तामिममा सहभागी थिए। एसईई दिएकी दामजी तामाङले सिप सिक्न तालिममा सहभागी भएको बताइन्।
दामजी लगायतका १८ जनाको समुह स्कुलका लागी चाहिले डेक्स बेच्च बनाउन सक्रिय थियो। उनीहरुलाई पिस टेक्निकलका प्रकाश थापाले तालिम दिइरहेका थिए।
नर्वेजियन र जर्मन राजदूतले गरे विद्यालयको उद्घाटन
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत लास्से वोर्न योहानेशन र नेपालका लागि जर्मनका राजदूत रोलान्ड सेफरले सयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गर्दै भवन विद्यालयलाई हस्तान्तरण गरे।

नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै नर्वेजियन र जर्मन राजदूत
कार्यक्रममा जर्मन राजदुत सेफरले नर्वेसँग भएको पैसा र जर्मन नियोगसँग भएको अन्य श्रोत परिचान गर्ने विद्यालय निर्माण हुन् सकेकोमा खुसी व्यक्त गरे। विद्यालय निर्माण भन्दा पनि निर्माण भएका पूर्वाधारको अधिकतम उपयोग हुनु पर्नेमा उनको जोड थियो।
यस्तै नर्वेजियन राजदुतले निर्माण भएको स्कुलको संरक्षण गर्दै अधिकतम सदुपयोग गर्ने जिम्मेवारी स्थानीय जनताको भनेको उल्लेख गर्दै आगामी दिनमा पनि नर्वेजियन सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
जस्ताको होस्टेलमा विद्यार्थी
हाल कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालयमा अध्यनरत ४ सय ६७ विद्यार्थी अध्यनरत छ। ती मध्ये १ सय १० जना जस्ताले बनेको अस्थाई होस्टेलमा बस्ने गर्छन। जस्ताले बनाएको होस्टेलमा ग्रे, गतलाङ, मिन्दुगाउँ लगायतबाट आउने विद्यार्थी बस्ने गरेका विद्यालयले जनाएको छ। बिद्यालय रहेको ठाउँबाट ती गाउँहरु पुग्न हिडेर १ दिन भन्दा धेरै लाग्ने र त्यहाँ स्कुल नभएकाले पनि विद्यार्थीहरु स्याफ्रु आउने गरेको कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालयका प्रधानाध्यापकले जानकारी दिए।
जस्ताको होस्टेलमा बस्ने विद्यार्थीजिल्ला विकास समित र दाताको सहयोगमा बनेको जस्ताको होस्टेलमा बिद्यार्थीहरु बस्ने गर्छन। विद्यालय प्रशासनले बस्ने व्यवस्था गरेको भए पनि खानाको व्यवस्था स्वयम् विद्यार्थीले गर्नु पर्छ। प्रधानाध्यापक लामिछानेका अनुसार होस्टेलमा दुई-तिन कक्षा देखि १२ कक्षा सम्मै पढ्ने विद्यार्थी बस्ने गर्छन। साना विद्यार्थी आफ्ना दिदि अथवा दाई सँग बस्ने गर्छन्, हामीले बस्ने ठाउँ मात्र दिन सकेका छौं।
उनले भने, भूकम्प भएको ३ वर्षमा राम्रो विद्यालय भवन पायौं, अब होस्टेलका लागि सहयोग जुटाउन लागेका छौं।
डिजिटल विद्यालय
नवनिर्मित भवनका सम्पूर्ण कोठाहरुमा प्रोजेक्टर जोडिएको छ। जीआईजेडकै सहयोगमा कक्षा कोठामा प्रोजेक्टर जोडिएको लामिछानेले बताए। हाल विद्यालय २१ शिक्षक र ३ कर्मचारी कार्यरत छन्। लामिछाने भन्छन्, आधा भन्दा धेरैलाई ल्यापटप र प्रोजेक्टर कसरी प्रयोग गर्ने भन्ने थाहा छ, बाकींलाई आगामी सोमबार देखि तालिम दिनेछौं।

विद्यालयको कक्षा कोठामा नर्वेजियन र जर्मन राजदूत लगायत
सरकारी दरबन्दी अनुसारका शिक्षक विद्यालयमा भए पनि छिटो छिटो सरुवा हुने समस्या रहेको उनले बताए। भूकम्प पछि त झन् यहाँ छोटो छोटो समयका लागि आउने शिक्षकको संख्या ठुलो छ।
जस्ताका कोठामा पढ्दा निन्द्रा लाग्थ्यो
अहिले ११ कक्षामा बढ्दै आएका विद्यार्थीले जस्ताको कोठामा पढ्दा शिक्षकले भनेको कुरामा ध्यान दिनै कठिन हुने अनुभव सुनाए। जस्ता भित्रका कोठामा गर्मिमा गर्मि र चिसोमा चिसो हुने हुँदा पढाईभन्दा पनि अन्तै ध्यान जाने गरेको बताए। गत वर्ष एसईई पास गरेर सब-ओभरसियर र ११ कक्षामा पढिरहेकी उजेली तामाङले भनिन् क्लासमै निन्द्रा लाग्थ्यो, सरले भनेको कुरा टिप्नै गाह्रो हुने गर्दथ्यो।
१२ कोठाको नयाँ भवनमा पढ्दा विगत भोगेको जस्तो समस्या भोग्नु नपर्ने उनको बिश्वास छ।
विद्यालय उद्घाटनकार्यक्रममा उपस्थित गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्दै थिए, समस्या धेरै थिए र छन् अबका दिनमा हामि सहज रुपमा विद्यार्थीले पढ्न पाउने बातावरण बनाउने छौं।
भूकम्प पछि रसुवाका ८९ विद्यालयमा क्षति पुगेको बताउँदै जिल्ला शिक्षा समन्वय एकाई प्रमुख अधिकारीले आधा भन्दा धेरै विद्यालय पुनर्निर्माण भएको जानकारी दिन।

जस्ताले बनाईएको होस्टेल

नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै नर्वेजियन र जर्मन राजदूत

भर्खरै
लोकप्रिय






































































































































































































