
काठमाडौँ – अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन्। उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिइन्।
नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले काेमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए।
एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्।
पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको बताएका छन्।
‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ। पन्तको यस्तो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको बताउँदै वलीले अदालत जाने तयारी गरेकी हुन्।
वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी पनि गरेकी छिन्।
‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन्।
उनले अगाडि भनेकी छिन्, ‘विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?’
वलीले पूर्विया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको र प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको बताउँदै एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुने पनि बताएकी छिन्।