
काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच शुक्रबार एक संयुक्त समारोहमा हस्ताक्षर भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गरेका छन्।
सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’को तर्फबाट प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
सहमतिपत्रमा हस्ताक्षरपछि सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गरेका हुन्।
राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर हुनुअघि प्रधानमन्त्री ओली र विप्लव शुक्रबार वालुवाटारमा भेटवार्ता गरेका थिए।
बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो।
विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।