
खोप लगाएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटराईलाई ‘साइड इफेक्ट’ देखिएको छ। फागुन २० गते विभिन्न खाले पत्र पत्रिकामा आएको समाचार अनुसार उनीमा खोप लाएपछि ‘हाई फिवर’को समस्या देखिएको छ।
ज्वरो १०४ डिग्री फारेनहाइट पुगेपछि स्वास्थ्य जाँचका लागि उनी बिहीबार फागुन २० गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगे। विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा. भट्टराई बिहीबार नै घर फर्किए।
नेपालमा संसदको आउँदो अधिवेशनलाई मध्यनजर गरी सरकारले गत फागुन १९ गतेदेखि सांसद र संघीय संसदका कर्मचारीलाई खोप लाउने कार्य थालेको थियो।
डाक्टर भट्टराईले पहिलो दिन अर्थात बुधवार नै खोप लिएका थिए। खोपको सामान्य ‘इफेक्ट’ हुनु कुनै ठूलो कुरा होइन। तर बाबुरामजीको केसमा भने आश्चर्य लागेको छ।
ज्ञातव्य छ केही दिन पहिला मात्रै उनी शंकास्पद क्यान्सरको जाँच हेतु भारत गएका थिए। त्यहाँ भएका विभिन्न टेस्टबाट उनीमा क्यान्सर सम्बन्धी लक्षण देखिएनन् तर झण्डै एक साताको समय उनले निश्चय पनि ‘स्ट्रेस’ मा बिताए। रिपोर्ट आएपछि मात्रै उनको मस्तिष्कले शांति अनुभव गर्यो होला। आखिर क्यान्सरको भयावहताबारे को नै अनभिज्ञ हुन्छ आजको युगमा? स्वदेशका डाक्टरले शंका गरेर आधुनिक पद्धतिले जाँच परीक्षण हेतु विदेश जाने सिफारिस गर्नाले मात्रै व्यक्तिको आधा आत्मविश्वास थकित हुनु पनि अस्वाभाविक होइन। झण्डै एक साताको भारत प्रवास त्यहाँ भएका विभिन्न परीक्षण र स्वदेश वापसीको धपेडीले ६६ वर्षीय बाबुरामजीको शरीर थकित गलित हुनु पनि कुनै नौलो कुरा होइन।
बाबुरामजी कोरोना भाइरस र यसका भ्याक्सिनबारे अनभिज्ञ छन् भन्ने पत्याउन सकिँदैन। उनलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको भ्याक्सिन सम्बन्धी प्रोटोकलबारे जानकारी छैन भनेर कसरी पत्याउनु!
विश्वभरी बनेका झण्डै सबै भ्याक्सिनका सम्बन्धमा पटक पटक जानकारी सार्वजनिक भएका छन, भ्याक्सिन कसले लाउन मिल्छ, कसले लाउन मिल्दैन?
बाबूरामजीले आफ्नो स्वास्थ्यको ख्याल गरी, बितेको १०-१५ दिनमा भोगेको ‘स्ट्रेस’को ख्याल गरी, विगत ८-१० दिन भित्रको धपेडी सम्झी फागुन १९ गते भ्याक्सिन लाउन हुन्न थियो। यो पंक्तिकार डाक्टर होइन, भाइरोलोजिस्ट पनि होइन, बायोकेमिस्ट पनि होइन, कुनै पनि विधाको मर्मज्ञ होइन। यस पंक्तिकारसंग चीनमा कोरोना भाइरस शुरू भएदेखि यताको यस विषयक अध्ययन बाहेक अन्य कुनै योग्यता छैन। अक्सफोर्ड र जेनर इन्स्टिट्यूटले सराह गिल्बर्टको नेतृत्वमा भ्याक्सिन विकसित गर्ने घोषणा गरेको दिनदेखि मैले यस सम्बन्धी पाएसम्मका सबै जानकारी लिएको छु। ती जानकारीलाई विभिन्न अनलाइनमा लेखेको छु। त्यस्तै ‘म्यासेन्जर अरएनए’ भ्याक्सिन (कोरोना भाइरसको जेनेटिक म्याटेरियलबाट बनेको नयाँ प्रविधिको भ्याक्सिन र अक्सफोर्डको भ्याक्सिन पुरानो प्रविधि भाइरल वेक्टर प्रविधिमा आधारित रहेको) का बारेमा पनि यथाशक्य जानकारी बटुली लेखेको छु।
मसँग प्रश्न गरिन्छ, कुन भ्याक्सिन राम्रो हो?
यस विषयमा डा. शेरबहादुर पुन, डा. रवीन्द्र समिर, डा. सुनील शर्मा, बायोटेक्नोलोजिस्ट नबीन मुनकर्मी, ब्लड ट्रान्सफ्यूजन विशेषज्ञ डा. बिपिन नेपालसँग भएको कुराकानी र छलफलको आधारमा यति मात्रै भन्न सकिन्छ- अहिले यो प्रश्न सोध्ने बेला नै भएको छैन। यसको जबाब पाउन कम्तीमा एक वर्ष प्रतीक्षा गर्नुपर्छ। करोडौँ जनामा विभिन्न भ्याक्सिनको प्रयोग र त्यसले देखाएको परिणामको विस्तृत अध्ययनपछि मात्रै यस बारे केही भन्न सकिन्छ। र, फेरि वर्तमानको अवस्था जहाँ विश्वभरि नै भ्याक्सिनको हाहाकार छ यस्तो अवस्थामा जुन देशलाई जुन भ्याक्सिन उपलब्ध हुन्छ त्यही राम्रो।
प्रश्न भ्याक्सिन कुन राम्रो भन्ने होइन, मूल प्रश्न उपलब्ध भएको भ्याक्सिन ककसले लाउने हो अथवा लाउन मिल्छ? यसबारे नेपालमा व्यापक छलफल नभएको स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले स्वीकार गर्नैपर्छ।
तपाईं कुनै रोगको दीर्घरोगी हुनुहुन्छ, तपाईंको घरमा भएका वृद्धजन यदि दीर्घरोगी छन्, विभिन्न औषधि सेवन गरिरहेका छन् भने उहाँहरुलाई पनि भ्याक्सिनबाट टाढा राख्नुस्। रुघाखोकी, ज्वरोलगायत संक्रमण भएका व्यक्तिले निको भएपछि मात्र खोप लगाउनुहोला।
कथं कदाचित भारतबाट फर्किएका बाबूरामजीसँग मेरो भेट भएको भए म भ्याक्सिन नलिन सलाह दिन्थे। यस्तो सल्लाह म स्वास्थ्य अवस्था विचार गरी प्रधानमन्त्री केपी ओलीज्यूलाई पनि दिन्थे। यद्यपि उनले पनि भ्याक्सिन लगाइसकेका छन्। सम्माननीय राष्ट्रपति महोदयले पनि स्वास्थ्यका कारणले भ्याक्सिन लिन मिल्दैन।
शरीरमा विभिन्न रोग रहेर औषधि सेवन गरिरहेका महानुभावहरुले पनि भ्याक्सिन लिनुहुन्न। यसको कारण बुझ्न शरीरको इम्युन सिस्टम बुझ्नु पर्ने हुन्छ। तपाईं मधुमेह पीड़ित हुनुहुन्छ, औषधि खाई राख्नु भएको छ। अन्य कुनै रोग गम्भीर भई औषधि खाई राख्नु भएको छ। बुझ्नुस् तपाईंको इम्यून सिस्टमले शरीरभित्र रहेका रोगविरुद्ध दिनहुँ लड़ी राख्नु परिरहेको हुन्छ। जति बढी रोग त्यति बढी मात्रामा इम्यून सिस्टमको शक्ति बाँडिएको हुन्छ। मानौ तपाईंसँग तीनवटा रोग छन् अर्थात तपाईंको इम्यून सिस्टमले तीन मोर्चामा शत्रुसँग लड़ी राख्नु परिरहेको छ।
पहिला बुझ्नुस्- भ्याक्सिन हो के? सामान्य शब्दमा भ्याक्सिन अरु केही नभएर कमजोर पारिएको भाइरस नै हो। भ्याक्सिन मार्फ़त शरीरमा प्रवेश गराइएको भाइरस विरुद्ध इम्युन सिस्टमले थप नयाँ मोर्चामा शक्ति बाँड़नुपर्छ। यसरी इम्युन सिस्टमको शक्ति बाँडिदा तपाईंको शरीरमा रहेको पुरानो रोग उग्र बनी प्रकट हुन सक्छ। हिजोसम्म इम्यून सिस्टमले त्यस विरुद्ध पर्याप्त ध्यान दिएर त्यसलाई नियन्त्रणमा राखेको थियो तर नयाँ मोर्चामा शक्ति परिचालित भएकाले परिणाम स्वरुप त्यस रोगले तपाईंलाई थला बनाउन सक्छ। यसै कारणले विश्व स्वास्थ्य संगठनले कुनै पनि रोगका दीर्घ रोगीलाई भ्याक्सिन नलिने सलाह दिएको छ। बाबुरामजीले विगत १२-१५ दिनदेखि जुन मानसिक सन्ताप ब्यहोर्नु पर्यो, त्यसले निश्चय उनको आत्मविश्वास कमजोर हुनुका साथै इम्यून सिस्टम अति सक्रिय भएर अति व्यस्त थियो।
साथीभाइले सोध्छन्- तपाईंले भ्याक्सिन लिनु भयो? यस प्रश्नको सार्वजनिक जबाब दिन म जोगिँदै आइरहेको थिएँ तर आज बोल्न करै लागिरहेको छ।
मैले भ्याक्सिन लिएको छैन र म भ्याक्सिन लिन्न पनि। म मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको औषधि सेवन गर्नुका साथै पेटको अति कमजोर व्यक्ति हुँ, तसर्थ म भ्याक्सिन लिन्न। मेरो घरमा ७४ वर्षीय आमा हुनुहुन्छ उहाँ पनि अनेकौँ रोगले पीड़ित भई अनेको किसिमका औषधि सेवन गर्नु हुन्छ। तसर्थ उहाँ पनि भ्याक्सिन लिनु हुन्न्न। मेरो दीदीको शरीर नै अति एलर्जिक भएकाले उनले पनि भ्याक्सिन लिन्नन। भिनाजुको अवस्था र उमेर पनि यसै वर्गको छ। एकजना भाञ्जी १६ वर्षीय छन्, उनका लागि भ्याक्सिन बनेकै होइन। तसर्थ मेरो घरमा भ्याक्सिन लिने कोही पनि छैन। एकजना भाइ छ उसकाबारे मलाई थाहा छैन, आफ्नो पालो आउँदा भ्याक्सिन लिने नलिने उसको स्वतन्त्रतता।
तपाईं कुनै रोगको दीर्घरोगी हुनुहुन्छ, तपाईंको घरमा भएका वृद्धजन यदि दीर्घरोगी छन्, विभिन्न औषधि सेवन गरिरहेका छन् भने उहाँहरुलाई पनि भ्याक्सिनबाट टाढा राख्नुस्। रुघाखोकी, ज्वरोलगायत संक्रमण भएका व्यक्तिले निको भएपछि मात्र खोप लगाउनुहोला।
कुनै खोप, औषधि वा खानाको एलर्जी भएका व्यक्तिले खोप केन्द्रमा परामर्श गरी मात्रै भ्याक्सिन लगाउने काम गर्नुहोला। सिकिस्त बिरामीले खोप नलिनुहोला। रगत पातलो हुने औषधि लिएका, अंग प्रत्यारोपण वा ‘इम्युनोकम्प्रोमाइज्ड’ अवस्था भएका वा स्टेरोइड औषधि सेवन गरेका, हृदयाघात भएका तथा न्युरोलोजिकल समस्या भएका व्यक्तिले आफ्नो बिशेषज्ञसँग परामर्श गरेर मात्रै भ्याक्सिन लगाउनुहोला। गर्भवती महिलाका लागि भ्याक्सिन हुँदै होइन। निकट भविष्यमै यदि आमा हुने सोच छ भने भ्याक्सिन लिन सिफारिस गर्न सकिन्न। नेपालमा आएको भ्याक्सिन १८ वर्ष मुनिका केटाकेटीका लागि पनि होइन।
भ्याक्सिन लिने वा नलिने निर्णय तपाईंको व्यक्तिगत हो। यसमा कसैले कर गर्न वा सुझाव दिन मिल्दैन।
अहिले एउटा चलन देखिएको छ भ्याक्सिन लिने उच्च ओहोदाधारीले आफूले भ्याक्सिन लिएपछि ढुक्क भई भ्याक्सिन लिनुहोस् भन्ने किसिमको अभिव्यक्ति दिने। सभामुखबाट पनि यस्तो अभिव्यक्ति आएको सुनियो। यो चलन ठीक होइन। यो चाहे सभामुखले गरेको होस अथवा कुनै अन्य नेताअभिनेताले। जिम्मेदार व्यक्तिले यस विषयक केही भन्नु पर्दा विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार बोल्नु पर्छ। सबैले ढुक्क भएर भ्याक्सिन लिन मिल्दैन।
नेपाल सरकारले यस सम्बन्धमा प्रचार प्रसार गरिदिए नै लोकको कल्याण हुन्थ्यो। एकदिन एउटा अनलाइनमा प्रकाशित भएको कुनै सामग्रीले सबैलाई सन्देश पुग्न सक्दैन। अन्त्यमा बाँकी रहेका सबैजना सांसदहरुसँग यति नै अनुरोध। भ्याक्सिन लिनुभन्दा पहिला आफ्नो डाक्टरसँग सल्लाह लिनुस्। तपाईं कुन कस्तो रोगले ग्रस्त हुनुहुन्छ, भ्याक्सिनले त्यसमा के कस्तो प्रभाव पार्न सक्छ?
हल्लाका पछाडि नलाग्नुस् भ्याक्सिन नलाउँदैमा तपाईंलाई संसद भवनमा पस्नबाट कसैले रोक्न सक्दैन। याद गर्नुहोस् सबै खाले भ्याक्सिन स्वस्थ मानिसका लागि हुन्। पूर्वप्रधानमन्त्री बाबुरामजीको शीघ्र स्वास्थ्य लाभको कामना।