
काठमाडौँ – पहिलो चरणमा चक्रपथ भित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने मेलम्ची खानेपानी आयोजना तथा पानी विरणको जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
साबिक पाइप लाइनका एक लाख ८० हजार तथा नयाँ विछ्याइएको पाइपलाइन अन्तर्गतका झण्डै २० हजार धारामा पहिलो चरणमा मेलम्चीको पानी पठाउने तयारी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृति मिलन शाक्यले जानकारी दिए।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, ‘मेलम्चीको पानी वितरणका लागि तत्काल दुई चरणमा काम हुँदैछ। अहिले सुरुङ्गमा पानी परीक्षण तथा पानीको गुणस्तर जाँच्ने क्रम जारी छ। त्यसपछि पहिलो चरणमा पुराना एक लाख ८० हजार धारामा पानी पठाइन्छ। यस्तै दोस्रो चरणमा नयाँ विछ्याइएका झण्डै २० हजार धारामा पानी पठाउने र बाँकी धारामा परीक्षणको काम हुन्छ।’
सिन्धुपाल्चोकको हेलम्बुबाट सुन्दरीजलमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी अहिले आइरहेको छ। गएको सोमबारदेखि परीक्षणका लागि पठाइएको पानी बागमतीमा हालिएकोमा आइतबार (फागुन २३ गते) रोकिएको थियो।
फेरि आउँदो बुधबारदेखि बागमतीमा पानी हालेर परीक्षण जारी राखिने मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिएका छन्।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिडिआई) का अनुसार उपत्यकामा एक लाख १० हजार नयाँ धारा जोडिने छ। अहिलेसम्म ६० हजार भन्दा धेरै धारा जोडिएको र त्यसमध्ये २० हजार धारामा पानी पठाउनका लागि पहिलो चरणको परीक्षण भएको पिडिआइका उपनिर्देशक उज्वल प्रजापतिले जानकारी दिए।
पहिलो चरणमा साबिकका एक लाख ८० हजार तथा नयाँ बिछ्याइएका मध्ये २० हजार धारामा महांकाल, बाँसबारी, बालाजु, अनामनगर, मिनभवन, महाराजगञ्जमा रहेका पोखरीमा पानी जम्मा गरेर वितरण हुने केयुकेएल र मेलम्ची आयोजनाले जनाएको छ।
मेलम्ची आयोजना र केयुकेएलका अनुसार परीक्षणको काम सकेर मोटामोटी पहिलो चरणमा आउँदो वैशाखा मध्ये वा अन्त्यसम्म सर्वसाधारणको धारामा मेलम्चीको पानी वितरण गर्ने गरि काम भइरहेको छ।
त्यसअघिको समय सुरुङ्ग, पाइपलाइन तथा धाराको परीक्षण तथा पानीको गुणस्तर जाँचमा प्रयोग हुने आयोजनाले जनाएको छ। त्यसपछि बोडे, कीर्तिपुर, भक्तपुरमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गर्ने र त्यहाँको पानी वितरणको काम थालिने आयोजनाको भनाइ छ।
काठमाडौँ उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर खानेपानीको माग रहेको केयुकेएलले जनाएको छ। त्यसमध्ये बर्खा याममा दैनिक १५ करोड लिटरसम्म र सुख्खा याममा मुश्किलले ८ करोड लिटर पानी वितरण गर्न सकिएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।
मेलम्चीको पानी पूर्ण क्षमतामा आउँदा दैनिक १७ करोड लिटर पानी थप हुन्छ। यसको अर्थ दैनिक २५ करोड लिटर पानी वितरण गर्न सक्ने अवस्थामा केयुकेएल पुग्ने छ।
मेलम्चीको पहिलो आयोजना रहेको र त्यो सम्पन्न भए लगत्तै दैनिक १७–१७ करोड लिटर क्षमताका याङ्ग्री र लार्के आयोजनाको काम सुरु हुने सरकारले जनाएको छ।