
काठमाडौँ- महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरमा गत वर्ष जस्तो वृहत सजावट यस वर्ष नहुने भएको छ।
कोरोना भाइरसको जोखिम यथावत रहेकाले गत वर्षको जस्तो सजावट नहुने सुरक्षा व्यवस्था, अनुगमन उपसमितिका संयोजक तथा सदस्य–सचिव डा.प्रदीप ढकालले जानकारी दिए।
उनले भने, ‘कोरोना भाइरसले गर्दा पोहोर जस्तो वृहत पुष्प सजावट हुदैँन। तर मन्दिरका द्धारसहित मन्दिर परिसरलाई सजावट गरिन्छ।’ गत वर्ष पशुपति क्षेत्र निकै कलात्मक ढंगले पुष्पद्वारा सजाइएको थियो।
हिन्दुधर्मालम्बीहरुले अन्य पर्वसँगै महाशिवरात्री विशेष महत्वका साथ मनाउने गर्छन्। शिवरात्रिका लागि भनेर हिन्दु धर्म मान्नेहरु विभिन्न देशबाट पशुपति दर्शन गर्न आइपुग्छन्।
यस्तै उनले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने र दर्शनार्थीहरुलाई सामाजिक दूरी, स्यानिटाइजर तथा मास्कको प्रयोग अनिवार्य गरिएको बताए।
उनका अनुसार पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्डहरुलाई प्रभावकारी बनाउन उपसमितिको गठन गरी कार्य विभाजन समेत गर्दै विभिन्न तयारी गरिदैँछ।
कोषले सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरीको अगुवाइमा सशस्त्र बल तथा राष्ट्रिय अनसन्धान विभाग समेतबाट सुरक्षका जनशक्ति परिचालन गर्ने जनाएको छ।
कोषले दर्शनलाइनको सहजीकरणका लागि ४ हजारको संख्यामा नेपाल स्काउटसहित अन्य स्वयंसेवा परिचालन गर्ने र स्वास्थ्य शिविरको पनि व्यवस्था गरेको छ। यसैगरी भोलि बुधबार बिहान विशेष सरसफाइ कार्यक्रम गरी शिवरात्रीको तयारी सुरु गरिने कोषले जनाएको छ।
दर्शनार्थीहरुको जुत्ता–चप्पलको व्यवस्थापनका लागि भुवनेश्वरीमा एक स्थायी जुत्ताचप्पलको व्यवस्थाका अतिरिक्त दर्शन लाइनलाई पायक पारेर दक्षिणमूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग १, भुवनेश्वरी नजिक १, बज्रघर दक्षिण तर्फ १, राम मन्दिर नजिक (बागमति पारी) १, गरी ५ ठाउँमा कक्षको व्यवस्था मिलाइएको छ।
दर्शनका लागि मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबार–१ रुट, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ रुट, बत्तीसपुतली–गौशाला, एअरपोर्ट–तीलगंगा भएर पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चारशिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट १–१ रुट गरी बाहिरी रुपमा ३ स्थानबाट दर्शन लाईनहरु रहनेछन्।
तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार लाइन हुने ढकालले बताए। उनले नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेदेखि भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए।
तीलगंगा कोरिडोरको उपलब्ध ठाँउ १, पशुपति क्षेत्र विकास कोषको कार्यालय १, महानगरीय प्रहरी वृत÷ट्राफिक प्रहरी प्रभाग १, सिफल चौर उपलब्ध ठाँउ १, गुहेश्वरी पारी १ गरी ५ स्थानमा पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन गरिएको उनले बताए।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी दर्शनार्थीहरुलाई उनले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरे।