
झापा – पूर्वी नेपालकै सबैभन्दा ठूलो मानिएको आकर्षक भगवान शिवको प्रतिमा झापाको बिर्तामोडमा बिहीबार अनावरण गरिएको छ।
बिर्तामोड नगरपालिका–१ मा रहेको देवी पञ्चकन्यामा स्थापना गरिएको भगवान शिवको प्रतिमाको महाशिवरात्री पर्वको अवसर पारेर हिन्दुधर्म गुरु हेमानन्द गिरीको बाहुलीबाट बिहीबार अनावरण गरिएको हो।
अनावरणका अवसरमा भजन, झाँकी नृत्य प्रस्तुत गरिएको थियो। त्यस्तै शिवधुनीका साथ भजन संध्याको कार्यक्रम राखिएको थियो ।
जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिवको प्रतिमा राखिएको निर्माण समितिका संयोजक तथा कार्यक्रममा अध्यक्ष दीपक दाहालले जानकारी दिए ।
समुदायस्तरबाट आर्थिक संकलन गरि सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
भारत कोलकात्ताका मुर्तिकारले उक्त मुर्ति बनाएका हुन् । प्रतिमासँगै पूर्व–पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि निर्माण गरिएको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने योजना छ ।