
सिमकोट– कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्न थालेपछि हुम्लामा सतर्कता अपनाइने भएको छ। शुक्रबार जिल्ला कोभिड १९ क्राइसिस व्यवस्थापन समितिको बैठक बसेर सतर्कता अपनाएर स्वास्थ्य सुरक्षामा ध्यान दिने निर्णय गरेको हो।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले देशभर कोरोनाको दोस्रो लहर आउन सक्नेतर्फ ध्यान दिँदै जिल्लालाई पनि त्यसबाट सुरक्षित राख्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने निर्णय समितिले गरेको बताए।
त्यसैगरी, हुम्ला प्रवेशका तीन वटा नाका, हवाई मार्गको सिमकोट विमानस्थल, मुगु जिल्लासँगको नाका चंखेली र बाजुरासँगको कवाडी नाकालाई कडाइसाथ निगरानीमा राख्ने र हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणको व्यवस्था गरिने छ।
त्यसैगरी कोभिड १९ को संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि चाडपर्व, जात्रा, सभा सम्मेलन, वार्षिक विकास कार्यक्रम लगायत बढी जमघट हुने क्रियाकलाप नगर्ने र गर्नैपरे स्थानीय प्रशासन, स्थानीय तह, स्वास्थ्य सेवा कार्यालयको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालन गरेर गर्न सकिने निर्णय गरेको हो।
कोभिड संक्रमणबाट बच्न प्रचार–प्रसार पनि गरिने भएको छ। त्यसैगरी, जिल्लामा गत वर्ष स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसन वार्डलाई व्यवस्थित गरिने भएको छ। ३० वटा क्वारेन्टिन बेड र १० वटा आइसोलेसन तत्काल स्थापना गरिने भएको छ।
त्यस्तै अन्य ६ वटै गाउँपालिकामा पनि कोरोना संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न पनि बैठकले अनुरोध गरेको छ।
स्वास्थ्य सेवा कार्यालयमा कोरोना उपचार तथा रोकथामका उपकरण र सामग्री नभएको कारण त्यसका लागि नयाँ खरिद तथा सम्बन्धित माथिल्लो निकायसँग माग गर्ने निर्णय पनि भएको छ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामालगायत सहभागी थिए।