
सिमकोट– हुम्लाको सिमकोट गाउँपालिका– २ को ठेहे गाउँमा दुईवटा बम भेटिएका छन्। पुरानो घरलाई भत्काएर नयाँ निर्माण गर्नका लागि जग खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्।
भेटिएका बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
बम भेटिएलगतै घर मालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेका थिए। सेनाको टोली नआउञ्जले उक्त बमलाई प्रहरीले निगरानीमा राखेको थियो। एउटा सुतली बम र एउटा सकेट बम रहेको प्रहरीले जनाएको छ।
बम माओवादी ‘जनयुद्ध’का क्रममा राखिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
बमसँगै पुरानो जन आदेश पत्रिकासमेत भेटिएको प्रहरीले जनाएको छ। उक्त पत्रिकामा २०६१ चैत २ गते लेखिएको शर्माले बताए। प्रहरीका अनुसार बम र सो पत्रिका एउटै पलास्टिकमा भेटिएको थियो।