
काम्लो कुम्लो बोकी चले उता तिर।।
अगुल्टा थिए निभेका बले उता तिर।।
भाग पाए टपरीमा स्वादे जिब्रो रसाउन
चिल्लो बोकेर चौँठोमा दले उता तिर।।
झरि जाउन् कुहिएको भेट्नो सबै भन्थे
खिसि टिउरि गर्दा गर्दै फूले उता तिर।।
झोल पानी बटुकामै तानि धीत मार्थे
विदेशी पाए गिलाँसमा ढले उता तिर।।
अँगेनामा पकाइ वरि खाएका थिए सँगै
भिन्दै खाने बरु यता चुले उता तिर।।
को कता भासिए हिम पहिरोले गर्दा
ठाइँला कान्छा यता परे ठुले उता तिर।।
माले गोरु बेचि बेचि शहर झरे कति
रङ्गी चङ्गी सपनामा भुले उता तिर।।
गुँड छोडे चारा नपाइ कहिल्यै पेटभरि
झरे खाउँला दाना भनि झुले उता तिर।।
आफू त गए गए घर न घाटको हुँदा
पुच्छर पनि बोकी सँगै हुले उता तिर।।