
काठमाडौँ – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीहरुले राजीनामा दिएका छन्।
राजीनामा दिने मन्त्रीहरुमा दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढा रहेका छन्। सामाजिक विकास मन्त्री रावलले पार्टी एकताका लागि राजीनामा दिएको बताए। राजीनामा दिने तीनै मन्त्री एमालेको नेपाल-खनाल पक्षका हुन्।
यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर यी तीन मन्त्रीहरु सरकारबाट बाहिरिएका थिएनन्। त्यसपछि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले तीन दिनभित्र राजिनामा दिन निर्देशन दिएका थिए।
कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कर्णाली प्रदेशको सरकार गठनमा माओवादीलाई एमालेले साथ दिएको थियो।
यी दुईवटा पार्टी पछि एकीकरण भएपनि सर्वोच्च अदालतको फैसलापछि पुरानै अवस्थामा फर्किएका छन्। एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।
केन्द्रीय सरकारमा माओवादीले समर्थन फिर्ता लिन सक्ने चर्चा चलिरहेका बेला माओवादी नेतृत्व रहेको प्रदेश सरकारमा एमालेबाट मन्त्री भएकाले राजीनामा दिनेक्रम सुरु भएको हो।