
काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै सभापति देउवाले सरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसद्मा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरेका हुन्।
उनले संसद्मा आफूहरूको संख्या कम भएको र सरकार गठनका लागि अरूलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे।
उनले भने, ‘प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन। पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर बोलाउन सकेनौँ। यो वास्तविकतालाई सबैले बुझ्नुपर्यो।’
विभिन्न किसिमका टिप्पणीभन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनको भनाइ छ।
संसद्मा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे।
कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे।
उनले भने, ‘कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु। कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि।’
चुनावमा जानै पर्ने बाध्यता हुन सक्ने उनले बताए।
उनले भने, ‘चुनावमा जनताको मन जितेर हामी सरकार बनाउँछौँ।’ प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भ्रात्तृसंगठनजस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वान गरेका छन्।
उनले भने, ‘ओलीले सत्ता कब्जा गर्ने कोसिस गरेका छन्। उनले चाहेर कब्जा हुँदैन।’
सभापति देउवाले आफूले पटक–पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गरेका थिए।
उनले भने, ‘मैले प्रचण्डलाई तपाईँ नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि उनी उता गइदिए। तपाईं नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले। बल्ल थाहा पाए प्रचण्डले ।’ प्रचण्डलाई धेरै पटक प्राइमिनिस्टर बनाउन खोजेको उनले बताए। उनले भने, ‘ओलीले लात हानेपछि ठिक्क भएको छ। अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन। जोसुकै होस्।’
उनले चुनावको समयमा आफूले कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताए।
तर, तत्कालीन समयमा आफूले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उल्लेख गरे।
उनले भने, ‘मैले पहिला भनेको थिएँ। तपाहँरूलाई याद होला, कम्युनिस्टको सरकार आयो भने तपाईं रुन पनि पाउनुहुन्न । दुईवटा पार्टी मिले। मिलेपछि जनताले भोट हालिदिए गर्ने के ? भोट त हाम्रो हातमा छैन ।’
जनताले हराएपछि हार्नुको विकल्प नभएको उनले बताए। उनले भने, ‘जनतामाझ जाऊँ। जनताको दिल जिताँै। अनि हामी चुनाव किन जित्दैनाैँ ?’ जनता नै यस देशका मालिक भएको उनले बताए।
सभापति देउवाले संविधानअनुसार भदौभित्र महाधिवेशन गर्नै पर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिए।