
राजनीतिमा नैतिकता महत्वपूर्ण विषय मात्र होइन, यो जनअपेक्षा र सरकारको औचित्यसँग जोडिएको हुन्छ। अझ यो लोकतन्त्रको भविष्यको लागि अनिवार्य हुन्छ। असल राजनीतिक व्यवहारको सार्थक आधारका लागि पनि नैतिकतालाई बिशेष जोड दिनुपर्छ। इतिहासदेखि नै आचारसंहिता र निर्देशिकाहरु विकसित अनि अनुसरण गरिएको प्रमाणहरु छन्। मुख्यत: यी संहिताहरु राजनीति अनि सार्वजनिक संरचनाहरुको नियन्त्रण गर्न, साथसाथै उनीहरुलाई आफ्नो कार्यप्रति उत्तरदायी बनाउँदै समाजमा स्थीरता बहाली गरी राजनीतिक औचित्य कायम राख्न भएका छन् र हुनु पर्दछ।
राजनीति र नैतिकताको आवश्यकता:
व्यवहार सञ्चालन गर्ने आचरणको सिद्धान्त संहिता हो भने सम्भावित कार्यहरू बीच ठीकसँग कार्य गर्न र सही छनौट गर्न मार्गदर्शन गर्ने सिद्धान्त नैतिकता हो। मानव इतिहासमा, संहिता र नैतिकता व्यवहारको मार्गदर्शनमा निर्भर रहँदै, सहिष्णु समाज निर्माण गर्दै अनुशासन कायम राख्दै यहाँसम्म आइपुगेको हो।
उपयोगितावादले पनि जुन व्यवहार कायम रहँदा समाजलाई सुखभोग दिलाउन सकिन्छ, त्यही नै उत्तम अस्तित्वको गुण हुने अनि यही व्यवहारलाई आचार मानिने विचार व्यक्त भएको देखिन्छ। तसर्थ, आचार– नैतिकतालाई कार्यात्मक बनाउन, समाजका हरेक सदस्यले यसलाई अनुरक्षित गर्नु अपरिहार्य हुन्छ। समाजका हरेक सदस्य भन्नाले– नागरिक अगुवादेखि बाटो हगुवासम्म, नेतादेखि अभिनेतासम्म, पक्षदेखि प्रतिपक्षसम्म, वैद्यदेखि झाक्रीसम्म, डाक्टर देखि ह्याक–टर सम्म , डिग्रीदेखि बिग्रीसम्म , रिपोर्टरदेखि टीपोर्टरसम्म, जनतादेखि पन्थसम्म र विज्ञदेखि अबिज्ञसम्म – सबै सबैले अनुरक्षित गर्नु पर्छ।
सही व्यवहारको मापन व्यक्तिको आफ्नो रुचि पूरा हुँदा हैन, परन्तु समुदायको हितहरू कुन प्रकारले पूरा भए वा भएनन् भन्नेमा आधारित हुन्छ। लोकतान्त्रिक समाजमा जनप्रतिनिधि वा सार्वजनिक अधिकारीहरु संविधान – कानुनको आवश्यकता परिपूर्ति गर्न, शक्ति निहित सरकारमा चुनिएका हुन्छन्। जनप्रतिनिधिको उपस्थितिका हिसाबले, त्यो सरकारलाई बृहत समाजको अणु पनि मान्न सकिन्छ।
त्यसैले, राजनीतिको सम्बन्धमा आचार– नैतिकता उनीहरुको प्रत्येक क्रिया र त्यस क्रियाले आम मानिसलाई पार्ने प्रभाव वा हस्तक्षेपसँग सम्बन्धित हुन्छ। आचार– नैतिकता राजनीतिको अभिन्न रुप हो , जसको असर कयौँ मानिसहरुले पार्ने असर भन्दा अधिक अनि व्यापक हुन्छ। त्यसकारण, राजनीति गर्छु भन्नेको व्यवहार– आचरण उच्च स्तरको हुनु वाञ्चनीय हुन्छ।
कस्तो व्यक्ति नैतिक हुन्छ ?
कोही पनि व्यक्तिले अरुलाई नैतिकताको प्रश्न राख्नु पहिले, यी केही चारित्रिक विशेषता आफूमा भए–नभएको निर्क्यौल गर्नु जरुरी हुन्छ।
१) के तपाईंको काम–कर्तव्य तपाईंको सोचाइसँग मेल खाएको छ ?
२) तपाईं वफादारलाई कसरी इनाम दिनुहुन्छ?
३) तपाईं आलोचकलाई कस्तो व्यवहार गर्नुहुन्छ ?
४) के तपाईं अधिक प्रतिज्ञा गर्नुहुन्छ?
५) तपाईंको विचारमा कति समर्थक पाउनुहुन्छ ?
६) तपाईं नकरात्मकतालाई कसरी परिभाषित गर्नुहुन्छ ?
७) तपाईं विनम्र हुनुहुन्छ ?
८) के तपाईं निष्पक्ष हुनुहुन्छ ?
९) आफूले गरेका गल्तीहरूमा पछुतो मान्नुहुन्छ ?
१०) के तपाईं आफ्नो निर्णयको औचित्यपूर्ण र इमानदारीपूर्वक प्रतिवाद गर्न सक्नुहुन्छ?
११) के तपाईं प्रत्येक रात राम्ररी सुत्न सक्नुहुन्छ ?
त्यसकारण, गुटमा बुट बजारेर नैतिकताको पाठ नसिकाइयोस् श्रीमान्। भेलाको मेलामा नैतिकताको तमासा नदेखाइयोस कामरेड। कनिष्ठको समुहमा बसेर नैतिकताको मोह प्रस्तुत नगरियोस दाईहरु। हुलमा भुल गर्दै नैतिकताको नारा नलगाइयोस भाईहरु।
राजनीतिको सम्बन्धमा आचार- नैतिकता उनीहरुको प्रत्येक क्रिया र त्यस क्रियाले आम मानिसलाई पार्ने प्रभाव वा हस्तक्षेपसँग सम्बन्धित हुन्छ। आचार- नैतिकता राजनीतिको अभिन्न रुप हो , जसको असर कयौँ मानिसहरुले पार्ने असर भन्दा अधिक अनि व्यापक हुन्छ। त्यसकारण, राजनीति गर्छु भन्नेको व्यवहार- आचरण उच्च स्तरको हुनु वाञ्चनीय हुन्छ।
गमलाका नेता !
नैतिकता नेतृत्वको केन्द्र हो। नेताहरूले संगठनात्मक मूल्य–मान्यताहरु स्थापना गर्न र सुदृढ पार्न मद्दत गर्छन्। नैतिक तथा जिम्मेवार नेताले अरुलाई सम्मान गर्छ, जनताको सेवा गर्छ, सबैलाई न्याय गर्छ , सबैप्रति इमान्दार हुन्छ र उसले सम्मुनत समाज निर्माण गर्छ। आजका सबै राजनीतिक नेताहरूले यी सबै सिद्धान्तहरू नभए पनि केहीलाई तोडिसके र आफ्नो पद र स्वार्थको अभिष्ट पूर्ति गर्न अपभ्रष्ट भइसके – सबै ,सबै र सबै ।
कोही उखान, कोही बखान गर्दै छन्। कतै कविता, कतै ताकिता हुँदैछ। कसैको शायरी, कसैको सवारी लगातार भइरहेको छ। कोही कुर्लदैँ छन् , कसैलाई उर्लाइदै छ। एकथरि गनगन , अर्काथरी भनाभन गर्दै छन्। यिनका खुट्टी नि देखियो, जुट्टी नि देखियो। बेला–बेला कामरेडहरुको अभिवादन गर्न कस्ने मुट्ठी नि देखियो। दाइहरुको जय नेपाल गर्ने हुति नि देखियो। मनको, न काला न सेता, न उता न यता, यी सब गमलाका नेता।
पारिलो घाम लाग्ने, उब्जनी खेत–बारीको प्रांगारिक मलमा हुर्केको नेता भए पो फल अनि शितल दिन्थे। जरा फिजारेर, हाँगा सुदृढ पार्दै, स्वतन्त्रताको हावामा आफ्ना हरिया कल्कलाउँदो पात हल्लाउँथे। गमलामा कलमी गरेका नेताहरु, मालीको क्रियानुसार प्रक्रिया सुरु गर्छन्। यिनका आविष्कार, नवाचार र नैतिकता, उनै मालीको समय, इच्छा र गोडमेलमा निहित छ। अनि यिनले नैतिकताको कुरा गर्दा मलाई फगत यिनको वैतनिकताको गन्ध आउछ।
यी दुई दिनको घामले ओइलाउने, झरीले गल्ने अनि सर्दीले सड्ने गमलाका नेता। यिनका हुर्काइ नियन्त्रित छ, पुष्पन सीमित छ, विस्तार पराधिन छ। यिनका बनोट गमलाको आकार अनुसार , अनि प्रतिकृति त्यसमा प्रयोग भएका सामग्रीको प्रकार अनुसार भएको छ। यिनका मालीले काम, क्रोध, लोभ, मोह, मद् र मत्सर्यको मल जरामै जडित गरेको छ। अनि यस्ता रुखको के तुक छ र?
मलाई त यी गमलेको चिन्ता हैन, बरु ती तमाम बन्जर पारिएको खेत–बारीमा फल्न र फुल्न नसकेका लोपुन्मुख बोट–बिरुवा र तिनका प्रजातिको उद्भावको हो। अब मल पनि उतै हाल्छु , फल पनि उतै खोज्छु। गमलाका नेताहरुबाट उत्पादित गण्डमाला निर्मुल अत्यावश्यक छ।
अत: बन्द गर नैतिकताको रटान, मलाई सहानुभूतिको ताली पाउने कुटिल उपाए जस्तो लाग्छ। नभन ‘जनताका लागि‘ यो हामीलाई गाली जस्तो लाग्छ। ‘राष्ट्रको हित‘ भन्नु त् केवल ठगी खाने भाँडो भयो। हामी अभागी नेपालीलाई नेता मात्र हैन, यिनीहरुको छाया पनि घाँडो भयो।