
सिमकोट – नेपाल टेलिकम र वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।
टेलिकमको शनिबार बेलुका र वर्ल्ड लिंकको बिहानबाट सेवा अवरुद्ध हुँदा हुम्ला जिल्लामा यसका सेवाग्रही मर्कामा परेका हुन्। आइतबार इन्टरनेट सेवाले काम नगरेपछि बैंकमा रकम जम्मा गर्न नसकिएको सेवाग्राही लोग भण्डारीले बताए।
एडीएसएल सेवाले काम नगरेपछि बैंकले सेवा दिन नसक्दा कारोबार बन्द भएको उनले बताए।
एडीएसएल सेवा मात्र होइन भिस्याटले पनि काम नगरेपछि बैंकले कुनै कारोबार गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक सविता शाहीले बताइन्। इन्टरनेटकै कारण सिमकोटका तीन वटा बैंकमध्ये सिटिजन्स र सांग्रिलामा पनि कारोबार हुन सकेन।
नेपाल टेलिकमको टावर रहेको कालिकोटको महावुमा रिपिटर टावरमा खरावी आएपछि एडिएसएल सेवा अवरुद्ध भएको टेलिकम नेपालगंजका इन्जिनियर सुसिन पौडेलले बताए। उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य भइरहेकोले जुम्लाको माईथाप्लाबाट एडिएसएल सेवा सुचारु गरेपनि सर्किटले धान्न नसकेपछि सो स्थानबाट आउने सेवा बन्द गरिएको उनले बताए।
प्राविधिक मर्मत स्थलमा पुगेको र चाँडै सञ्चालनमा आउन सक्ने उनले बताए। डाटाबाट भने इन्टरनेट सेवा सुचारु छ।
यता, वर्ल्ड लिंकले पनि शनिबारबाट काम गर्न नसकेको सो प्रालिका हुम्ला प्रमुख रामजन रावतले बताए। जुम्लाको डाँफेलेकमा रहेको रिपिटर टावरमा खराबी आएपछि दुई दिनदेखि सेवा प्रभावित भएको उनले बताए।
रिपिटर टावरमा बिग्रेको सामान काठामाडौँबाट ल्याएर जडान गर्नुपर्ने भएको कारण एक/दुई दिन लाग्न सक्ने उनले बताए। वर्ल्ड लिंकले गाउँपालिका, वडा, स्वास्थ्य चौकी, अस्पताललगायत क्षेत्रमा निःशुल्क सेवा दिँदै आएको छ भने बैंक तथा वित्तीय क्षेत्रमा व्यापारिक सेवा प्रदान गरेको छ।