
पहिलो पटक बाआमाले छोराको कम्पनीको नाम उच्चारण गरे ‘अफरिङ ह्यापिनेश’। यो सन् २०१९ तिरको कुरा हो। यसअघि उनीहरुले छोराको कम्पनीको नाम उच्चारण त के, कम्पनीले के काम गर्छ भन्ने पनि बुझेका थिएनन्।
करिब चार वर्षअघि २०१७ मा सन्तोष पाण्डेले साथीहरुसँग सल्लाह गरी केही नयाँ गर्ने निधो गरे। त्यहीँबाट ‘अफरिङ ह्यापिनेश’को सोच पलाएको थियो। त्यसको बारेमा सन्तोषले बाआमालाई पनि सुनाए। तर छोराले भनेको उनीहरुले केही बुझेनन्।
बाआमाले नबुझे पनि ‘नगर छोरा’ भनेनन्। ‘बुबाआमाले मेरो साथीहरुलाई राम्रोसँग चिन्नुभएको थियो। उनीहरुले जे गर्छन् राम्रै गर्छन् भन्ने थियो,’ सन्तोषले भने।
त्यसपछि जिम्मेवारी सबै आफूमा आएको उनी बताउँछन्। काम गर्दैगर्दा एक वर्ष बित्यो। तर कमाइ छैन।
सन्तोष ‘अफरिङ ह्यापिनेश’सँग जोडिनुअघि एनजिओमा काम गर्थे। उनले प्लस टु पढ्दै गर्दा साथीहरुसँग मिलेर एनजिओ पनि खोलेका थिए। उनी रोजगार थिए। आम्दानीको स्रोत थियो।
तर अफरिङसँग जोडिएपछि सबै बन्द भयो। केही कमाइ छैन। जसका कारणले उनका बाआमा चिन्तित भए।
‘घरकाले भन्न थाले– पहिले आफै कमाउँथ्यो। अहिले त्यो पनि छैन। एक डेढ वर्ष भइसक्यो। यसलाई एकदमै गाह्रो भइरहेको छ। बिहानदेखि बेलुकासम्म खटिएको छ। आम्दानी केही छैन,’ त्यतिबेला घरपरिवारले गरेको चिन्ता थयो।
विस्तारै कम्पनीको काम बढ्दै गयो। कम्पनी बढेसँगै २/३ जना ‘मेम्बर’ पनि उनले राखे। काम बढ्दै जाँदा नेपालको प्रतिनिधित्व गर्दै विदेश जान सुरु भयो।
मिडियाहरुले आफूहरुलाई सहयोग गर्न थालेको उनी बताउँछन्। यसरी सबैतिर कामको प्रशंसा हुँदा परिवारमा पनि आशाको सञ्चार भयो।
बाआमाको साथ जुराउने उनको सबैभन्दा ठूलो सारथी बन्यो, ‘नेशनल जियोग्राफी।’
कसरी बन्यो त सारथी?
सन्तोषले सन् २०१९ मै ‘ग्लोबल स्टुडेन्ट अन्टरपिटरसिप अर्वाड’ जिते। यो प्रतियोगिता केही फरक काम गरेका विद्यार्थीहरुका लागि गरिने उनी बताउँछन्। सन्तोषका अनुसार यो एक किसमको ‘वर्ल्ड कप’ जस्तै हो।
‘पहिले आफ्नो देशमा जित्ने। त्यसपछि अन्य देशसँग प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘जसमा ५१ देशको सहभागिता हुन्छ।’
सोही समयमा नेशनल जियोग्राफीले संसारभर केही नौलो काम गरिरहेका उद्यमीहरु र त्यसबाट समाजमा केही प्रभाव पारेकाहरुको एसियामा खोजी गरिरहेको थियो। जसमा उनी पनि परे।
एकदिन उनलाई नेशनल जियोग्राफीले इमेल पठायो।
‘मलाई एकदिन उनीहरुको मेल आयो। मेलमा तपाईंलाई डकुमेन्ट्रीमा कास्टका रुपमा फिचर गर्न चाहन्छौँ लेखिएको थियो,’ उनी भन्छन्, ‘मलाई पत्यार लागेन। फेक होला सोचेँ। तरपनि रिप्लाई भने गरेँ। त्यसपछि उनीहरुले मेरो अन्तर्वार्ता लिए।’
आफ्ना लागि यो अवसर निकै महत्वपूर्ण भएको उनी बताउँछन्।
‘अन्तर्वार्तापछि नेशनल जियोग्राफीको ठूलो टिम नेपाल आइपुग्यो। सो टिमले करिब ७/८ दिनमा घरदेखि कार्यालयसम्मको डकुमेन्ट्रीका लागि सबै सामाग्री खिचे’, उनले भने, ‘यति धेरै प्रश्न गरे, मलाई यति धेरै प्रश्न लाईफमा कसैले सोधेकै थिएन। यी प्रश्नले मलाई धेरै मद्दत गर्यो काममा। मेरा बुआमाको विश्वास जित्नलाई मदत गर्यो।’
यसै डकुमेन्ट्रीको सिलसिलामा उनका बाआमाले पहिलो पटक छोराको कम्पनीको नाम उच्चारण गरेका थिए। र कम्पनीले के काम गर्छ भन्ने पनि बुझे।
उनले भन्छन्, ‘मेरा बुवाआमाले डकुमेन्ट्रीको समयमा नै अफिसको नाम ‘अफरिङ ह्यापिनेश’को उच्चारण गरे। त्यो भन्दा पहिले छोराको कम्पनीको नाम उच्चारण गर्न आउँदैन थियो। त्यो बेला उहाँहरुले अफरिङ ह्यापिनेश रहेछ भनेर सिक्नु भयो। मेरो लागि त्यो एकदमै राम्रो अनुभव भयो।’
यसबाट उनको कामलाई पनि धेरै फाइदा भयो। डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक भएपछि ‘अफरिङ ह्यापिनेश’को चर्चा अझ बढी हुन थाल्यो। सबैले यसका बारेमा थाहा पाए। उनलाई देश विदेशबाट राम्रो काम गरेको भन्दै म्यासेज आउन थाले।
‘यसलाई लाइफ चेन्जिङ अवसरका रुपमा लिन्छु,’ सन्तोष भन्छन्।
सन् २०१९ मा खिचिएको ‘डकुमेन्ट्री’ सन् २०२१ मार्च १२ मा आधिकारिक रुपमा सार्वजनिक भयो। ‘अन द रुम’ ‘डकुमेन्ट्री’ डिज्नी प्लसमा चलिरहेको छ।
‘डकुमेन्ट्री रिलिज भएपछि दिनमा ५/१० वटा बाहिरका मान्छेहरुको म्यासेज आउँछ। राम्रो प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘कसैले यो आइडिया मेरो देशमा लग्न के गर्नुपर्छ? कसरी गर्नुपर्छ? पार्टनरसिप कसरी गर्न सकिन्छ? भनेर धेरै रेसपोन्स आइरहेको छ। यसले मैले जति सोचेको छु, त्यो भन्दा धेरै पाइरहेको जस्तो लाग्छ।’
अफरिङ ह्यापिनेशले के काम गर्छ?
खुसीको अर्को नाम ‘अफरिङ ह्यापिनेश’ भन्दा फरक नपर्ला। किनभने यसले खुसी बाँड्छ र खुसीको माध्यम बन्छ। या भनौँ, देशभित्र र बाहिर रहेका मानिसहरुको खुसीलाई उनीहरुका परिवार तथा प्रियजनसम्म पुर्याइदिने माध्यम हो ‘आफरिङ ह्यापिनेश।’
यसका माध्यमबाट सात समुन्द्र पारी रहेका मानिसले नेपालमा भएका आफ्ना परिवार तथा प्यारो मान्छेलाई ‘सरप्राइज’ दिन सक्नेछन्। कम्पनीले उनीहरुको आग्रह अनुसार काम गरेर सो ‘सरप्राइज’ घरसम्म ‘डेलिभर’ गर्छ।
‘सरप्राइज जे पनि हुन सक्छ। एउटा सानो चक्लेटदेखि ठूला–ठूला गिफ्टहरु पनि,’ उनले भने, ‘हामी गिफ्ट मात्र दिदैनौँ। त्योसँग खुसी पनि दिन्छौँ। उनीहरुको खुसी नै हाम्रो खुसी हो।’
उनका अनुसार ‘प्रडक्ट’ मात्र होइन, अनुभव पनि उपहार हुन सक्छ।
अफरिङ ह्यापिनेशले जिन्सी गिफ्ट मात्र होइन, भावनालाई पनि गिफ्ट बनाएर डेलिभर गर्ने सन्तोष बताउँछन्।
उनले भावनासँग जोडिएको गिफ्टको अनुभव सुनाउँदै उनले भने, ‘२०१९ मा आमाको मुख हेर्ने दिन एउटा अर्डर आयो। अष्ट्रेलियामा रहेका आफ्ना तीन भाइसँग मिलेर एक जनाले भिडियो सरप्राइज तयार पारेका थिए। त्यो भिडियो हामीले उहाँको आमासम्म पुर्यायौँ। त्यो भिडियो हेरेपछि त्यहाँ छुट्टै माहोल बन्यो। आमा रुन थालिन् र हामी पनि निकै इमोशनल भयौँ।’
ग्राहकहरुको अर्डर अनुसार कम्पनीले सबै चाँजोपाचो मिलाउने उनको भनाइ छ। आफूहरुले कसैका लागि डिनर डेट, जन्मोत्सव, लगायतका ‘सरप्राइज’को योजना बनाइ ग्राहकहरुसम्म पुर्याउने गरेको उनले बताए।
‘जस्तो आफ्नो मिल्ने साथी होस् या प्रियजनको जन्मदिन। उहाँलाई सिंगर बोलाएर घरमै गीत गाएर शुभकामना दिनसक्ने व्यवस्था पनि हामी गछौँ,’ उनले भने, ‘या कसैलाई एभरेष्टको बेस क्याम्पमा गएर प्रेम प्रस्ताव पनि राख्न मिल्छ, त्यो पनि हामी मिलाउँछौ। हामीसँग १५० रुपैयाँको चक्लेटदेखि लाखौँसम्मको सरप्राइज हुन सक्छ। हामी सबै गर्छौँ।’
सबै ‘क्रियटिभिटी’मा एक किसिमको मूल्य तोकेर सेवा सुविधा दिइरहेको उनले जानकारी दिए। हाल कम्पनीमा प्रत्यक्ष रुपमा १४ जना र अप्रत्यक्ष रुपमा दुई सय जनाले रोजगारी पाएको सन्तोष बताउँछन्।
‘कार्यालयमा काम गर्ने १४ जनाको टिम छ,’ उनले भने, ‘त्यसबाहेक हामीसँग पाँच सयहरु पार्टनरहरु छन्। जस्तो बलुन, डेरी, होटल, फूल, सिंगर, फोटोग्राफर व्यवसायीहरु जोडिएका छन्।’
यस्तै उनले आफूहरुसँग विदेशमा बसेका नेपाली, काठमाडौँ उपत्यका र कर्पोरेट हाउस गरी तीन थरीका ग्राहकहरु जोडिएको पनि बताए।
कसरी सुरु भयो ‘अफरिङ ह्यापिनेश’?
सन्तोष पाण्डे, निरज काफ्ले, अभिनाश चौधरी र दर्शन पराजुली नेशनलका विद्यार्थी भएपनि भिन्दा–भिन्दै ‘फ्याकेल्टी’मा अध्ययनरत थिए। तर कलेजमा केही कार्यक्रम हुँदा उनीहरु एक साथ काम गर्थे। त्यसताका उनीहरु स्नातक दोस्रो वर्षमा अध्यनरत थिए।
यसरी सँगै क्याम्पसमा कार्यक्रमको चाँजोपाँजो मिलाउने क्रममा आफ्नै केही गर्नुपर्छ भन्ने सोच पलाएको उनी बताउँछन्।
‘हामीले केही गर्नुपर्छ भनेर धेरै आइडियाहरु खोज्न थाल्यौँ। एउटा आइडिया के लियौँ भन्दा सानो–सानो गिफ्टहरु बनाउने र सिर्जनात्मक तवरले सरप्राइज तरिकाले घरघरमा डेलिभरी गर्ने। त्यसमा हामीले विदेशमा रहेका नेपालीहरुलाई टार्गेट गर्यौँ। यसो गर्दा उनीहरुको परिवारमा पनि खुसी आउँछ। आफू टाढा भएपनि आफ्नो परिवारलाई खुसी पुर्याउन पाउँछन्। यस्तो सोच आयो।’
उक्त सोचलाई यथार्थमा बदल्दै सन् २०१७ को फेब्रुअरीदेखि ‘अफरिङ ह्यापिनेश’ सुरु भयो।
सुरु गरेको केही वर्ष निकै समस्या भएको उनले बताए। ‘हामीले दुई तीन वर्ष बिना तलब काम गर्यौँ। जे–जे छ सबै लगाइयो,’ उनले भने।
चारै जना साथीहरुले २०–२० हजार रुपैयाँ जम्मा गरेर ८० हजारको लागतमा कामको सुरुवात गरिएको पनि उनले सुनाए।
‘कम्पनी सुरु गर्ने त भनियो। तर बिजनेशबारे केही थाहा छैन। हामी बिजनेश ब्यागराउण्डबाट पनि थिएनौँ। कसरी गर्ने, के गर्ने भन्ने केही थाहा थिएन,’ उनले भने, ‘त्यसपछि हामीले २०–२० हजार रुपैयाँ उठाएर ८० हजार बनायौँ। त्यसपछि हामीले १० हजारको ठाँउ लियौँ। अनि सानो टेलब राख्यौँ र चकटीमा बसेर काम सुरु गर्यौँ।’
उपहारका लागि चाहिने सामान नेपालमा कहाँ पाउछ भन्ने थाहा नभएकाले उनीहरुले करिब ४० हजारको सामान थाइल्याण्डबाट मगाए। र उपहार बनाउने काम पनि सुरु भयो।
‘उपहार बनाउनका लागि हाम्रै कलेजमा पढ्ने जुनियर बैनीहरुलाई भन्यौँ र उनीहरु हाम्रो पहिलो टिम मेम्बर पनि हुन्। उनीहरु निकै क्रियटिभ थिए,’ उनले भने।
योजना बनाएर काम सुरु गरेअनुसार काम नभएको उनले बताए।
‘जसरी सोचर काम सुरु गरेका थियौँ, त्यो अनुसार भएन। त्यसपछि नयाँ–नयाँ तरिका अपनायौँ,’ उनले भने, ‘केही समयपछि राम्रो चल्न थाल्यो। हामीले करिब महिनामा १० लाखको ट्रान्जेक्सन थाल्यौँ।’
सफलता मिल्दै थियो उनीहरुलाई। त्यसपछि विभिन्न अर्वाडहरु पनि जिते। कामकै सिलसिलामा अन्य देश जाने अवसर पनि जुर्यो। अरु देशमा गएपछि कसरी काम गर्ने र कम्पनीलाई ठूलो बनाउने भन्ने सिके।
उनले भने, ‘सबै काम आफैले गर्ने होइन। पहिले हामी बलुन फुलाउनेदेखि टेन्ट, केक लगायतका सबै काम आफै गर्थ्यौँ। यसरी नहुँदो रहेछ। यसका लागि सम्बन्धित व्यवसायीसँग सहकार्य गर्नुपर्ने रहेछ। त्यसपछि उनीहरुसँग सहकार्य गर्ने निधो गरेर उनीहरुलाई तालिम पनि दियौँ। अनि काम गर्न सुरु गर्न थाल्यौँ।’
काम सुरु गरेको ठ्याक्कै एक वर्षपछि सन् २०१८ तिर राम्रो व्यापार भइरहेको थियो। राम्रो व्यापार भएका कारण ठूलो कार्यालय र १९ जनाको टिम बनाए पनि सोचजस्तो भएन उनको व्यापार।
‘ठूलो टिमलाई सस्टेन गर्न सकिएन। आर्थिक रुपमा एकदमै गाह्रो भयो। त्यसपछि ठूलो अफिसबाट साथीको कन्सल्टेन्सीमा ११ जनाको टिम गएर एउटा कोठामा काम गर्यौँ,’ उनले भने, ‘हामीले अफिस बिना त्यहाँ ६ महिना काम गर्यौँ। राम्रो ग्रो गरेको कम्पनी पछि तल गएर सानो कक्षा कोठामा सीमित भयो। कसैले नपत्याउने नयाँ बिजनेश भनेर। काम गर्दै जाँदा फेरि कम्पनीलाई उकालो लगाइयो।’
तर अहिले राम्रो भइरहेको उनले बताए। कोभिडका कारणले केहि अप्ठेरो भए पनि हाल राम्रो भइरहेको उनले बताए। अहिले पार्टनरसिपका लागि दैनिक फोनहरु आउने गरेको पनि उनले जानकारी दिए।
अब ‘अफरिङ ह्यापिनेश’लाई काठमाडौँ उपत्यकाभन्दा बाहिर लैजाने योजना रहेको उनले जानकारी दिए।
‘यसलाई देशभरी फैलाउने योजना छ। अहिले काठमाडौँमा मात्र सेवा दिइरहेका छौँ,’ उनले भने, ‘यसलाई नेपाल बाहिर लैजाने सम्भावना पनि देखिएको छ। गिफ्ट र खुसी भन्ने बित्तिकै अफरिङ ह्यापिनेशको इमेज मान्छेमा आओस् त्यो इमेज बनाउने योजना छ। कोशिस जारी छ।’