
काठमाडौँ – आइतबार बिहान साढे ९ बजेदेखि खोप लगाउने पखाईमा बसेका श्रवण गुप्ताले दिउँसोको करिब १ बजे पालो पाए, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप केन्द्रमा।
४५ वर्षका गुप्ताले संक्रमणको जोखिमबाट बच्नका लागि र व्यापारिक प्रयोजनका लागि भारत आवतजावत गर्नुपर्ने भएकाले खोप लगाउन आएको बताए।
करिब ५ घण्टाको पखाईपछि उनले खोप लगाए। खोप केन्द्रबाट बाहिर निस्कँदै उनले गर्दा उनले भने, ‘बल्ल खोप लगाइयो। बिहान ९ बजेदेखि लाइनमा बसेको ५ घण्टामा पालो आयो।’
‘यस्तो महामारीका बेला पनि लाइनमा बसेकाले पालै पाएनन्। पछाडि आएकाले लगाए/ गइसक्छन्। जहाँ नि यस्तै धाँधली, के गर्नु यस्तै हो। आफू त व्यापारका लागि देश बाहिर पनि जानु पर्छ, त्यसैले खोप लगाएको हुँ’, उनले थपे।
आफ्नो व्यापारका बारेमा भने खुल्न नचाहेका उनी चिनियाँ खोप भेरोसेल लगाएर टेकु अस्पतालबाट बाहिरिए।
उनी बाहिरिएको केहिबेरमै खोप लगाएर सुमन बज्राचार्य पनि बाहिर आए। उनी पनि व्यापारी नै हुन्। उनले मनमैजुमा हार्डवेयर पसल रहेको बताए।
कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएको छ। पसलमा धेरै ग्राहकहरुसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्नु पर्ने भएकाले आफूसँगै उनीहरुमा पनि जोखिम हुने भएकाले खोप लगाएको उनले बताए।
आफ्नी श्रीमती कविता बज्राचार्यले पनि खोप लगाएको उनले बताए। ‘पसलमा मसँगै श्रमती पनि बस्छिन्। हामी दुवैलाई खोप लगाउनु पर्ने थियो’ उनले भने, ‘धेरै लामो लाइन बसेर पालो पाइयो। खोप त लगाइयो । कतिको प्रभावकारी छ त्यो भने थाहा छैन।’
उनीहरुले खोप लगाए पनि अझै सयौँको संख्याको लाइन बाँकी नै थियो । उनीहरु दिउँसोको घाममा आफ्नो पालो कुरिरहेका थिए।
सोही लाइनमा स्वयम्भूका ५१ वर्षीय गोपाल नेपाल पनि खोपको पर्खाईमा थिए। उनी पनि आफ्नी श्रीमतीका साथ आएका रहेछन्।
नेपाल व्यापारिक प्रयोजनभन्दा पनि आफ्ना छोराका कारणले खोप लगाउन आएका रहेछन्। ‘म खोप लगाउने सोचमा नै थिएन। तर मेरो साथीले खोप लगाउनु पर्छ। यदि भोलि देश बाहिर जानु पर्यो भने खोप लगाउँदा राम्रो भनेर लगाउन आएका हौँ। र मेरो छोरा क्यानडामा छ। उसको ग्र्याजुएशन हुन लागेको छ। जानु पर्यो भने खोप नलगाएका कारणले रोकिन्छ कि भन्ने डरले श्रीमतीसँग आएको हुँ’ उनले भने।
उनको आइटीको काम छ।
व्यापारिक प्रयोजनका लागि विशेषगरि भारत आवतजावत भइरहेको छ। सरकारले केही दिन अघि विशेष काम बाहेक भारत जान रोक लगाए पनि जाने आउने क्रम भने रोकिएको छैन। भारतमा कोरोनाको कहर भयावह छ। प्रत्यक्ष असर नेपालमा देखिन्छ, जसका कारण पनि खोप लगाउनेमा व्यापारी, विद्यार्थी, किशोरकिशोरी, प्रौढ थिए।
भारतसँगै व्यापारिक प्रयोजनका लागि बढि आवतजावत हुने देश चीन पनि हो। व्यापारिक काममा बाधा नहोस् भनेर करिब एक हप्ताअघि नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना मातहतका व्यवसायीहरुका लागि खोप लगाउने व्यवस्था गरेको थियो। अधिकांश व्यवसायी व्यापारिक हिसाबले चीनसँग जोडिएकाले व्यापार गर्न सहज वातावरण बनाउन आफूहरुले व्यापारीहरुलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयसँग माग गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले अनुमति दिएपछि वीर अस्पतालको सहकार्यमा आफूहरुले कोरोना भाइरसविरुद्धको खोप व्यवसायीहरुलाई उपलब्ध गराएको उनले बताए। ‘५–६ दिन महासंघका पदाधिकारीसँग छलफल गरेर माटामोटी सबै तर विशेषगरी चीन जाने व्यापारीहरुलाई खोप लगाउने सल्लाह भयो र हामी स्वास्थ्य मन्त्रालयमा कुरा राखेपछि वीर अस्पतालमा खोप लगाइयो’ उनले भने, ‘अधिकांश चीन जाने व्यापारीहरुले खोप लगाएका हुन्।’
उनका अनुसार ५० प्रतिशत व्यवसायीले खोप लगाइसकेका छन् भने बाँकीले अन्य अस्पतालबाट लगाइरहेका छन्।
उक्त खोप लगाउन व्यवसायीहरुसँग महासंघको कार्ड या महासंघ अन्तर्गत व्यवसायी संगठनको कार्ड र नेपाली नागरिकको परिचय खुल्ने परिचयपत्र देखाउनु पर्ने व्यवस्था समेत गरेको उनले बताए। ‘यसरी गर्दा धाँधली हुँदैन र सबैले खोप लगाउन पाउँछन्’, उनले भने।