
सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जाल ०७८/७९ मा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताएका छन्।
सुर्खेतबाट हुम्लासम्मको हवाईमार्गबाट अनुगमन गरेर सदरमुकाम सिमकोटमा हुम्लाबासीलाई सम्बोधन गर्ने क्रममा मन्त्री नेम्वाङले आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखिने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पटक–पटक कर्णाली करिडोरको काम जतिसक्दो चाँडो सक्ने गरी योजना तर्जुमा गर्न र बजेट व्यवस्था निर्देशन दिएको जानकारी दिए।
प्रधानमन्त्रीको निर्देशन र आफ्नो पनि यस आयोजनाप्रतिको चासोका कारण हवाई तथा स्थलमार्गबाट अनुगमन गर्न हुम्ला आएको र करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिएको उनले बताए।
उक्त आयोजना ०७८।७९ मा पूरा हुनेसमेत मन्त्री नेम्वाङले बताए। सडक विभागअन्तर्गतको हिल्सा सिमकोट खण्डको १ सय ४५ किमिमध्ये छारे सर्केगार्ड खण्डको १६ किमि चट्टानी असजिलो खण्ड निर्माणको जिम्मा सेनालाई दिने निष्कर्षमा पुगेअनुसार मन्त्रालयले निर्णय गरिसकेको छ।
सो अवस्था हेर्न पनि आफू करिडोर अनुगमन गर्न आएको मन्त्री नेम्वाङले बताए । काम तीव्र रुपमा गर्न र बजेटको कुनै अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए।
आयोजनाले जिम्मा लिएको सडकको अवस्थाबारे हिल्सा सिमकोट आयोजनाका योजना प्रमुख विशुनदास लामाले जानकारी गराएका थिए।
आयोजना प्रमुख लामाको प्रस्तुति हेरेका मन्त्री नेम्वाङले आयोजनाको प्रगतिबाट आफू सन्तुष्ट रहेको र अझै कामलाई तीव्रता दिन निर्देशन दिए।
आयोजनाको अनुगमन गर्न मन्त्री नेम्वाङ नेतृत्वको टोलीमा सांसद रंगमति शाही र कविता बोगटी, मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविद् इन्जिनियर गजेन्द्रप्रसाद थपलियालगायत सहभागी थिए।
टोली सेनाको हेलिकप्टरबाट आएको र सोमबारै सुर्खेत फिर्ता भएको थियो।