
सिमकोट– नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्नु र वर्ल्ड लिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।
हिल्सामा भएका सञ्चार सेवाले काम गर्न छोडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्ममा सशस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारीले बताए।
हिल्साको चौकीमा स्थापना भएको भिस्याटले जिल्लामा सम्पर्क नभएर सिधै हेडक्वारमा सम्पर्क भएपछि जिल्लामा केन्द्रबाट सम्पर्क हुने गरेको उनले बताए। चौकीका बारेमा प्रत्येक दिन दश बजे जानकारी हुने र घाम नलागे सम्पर्क नहुने उनले बताए।
वर्ल्ड लिंकको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भएको भएपनि अहिले त्यो पनि बिग्रेपछि अहिले सम्पर्क गर्न कठिन भएको हो। अर्को टेलिकमको भिस्याट टेलिफोन पनि बिग्रेको छ।
सोलारबाट संचालन हुने भिस्याटमा घाम लागेको दिन मात्र सम्पर्क हुने गरेको छ।
चार हजार ६ मिटर अग्लो नारा लेक पार गरेर यारीमा आएपछि मात्रै टेलिकमको टावरले काम गर्ने अवस्था छ। त्यहाँ चार घण्टा पैदल हिँडेर आउनु पर्छ।
चौकीमा खटिएका सुरक्षाकर्मीले घर परिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था छैन। दुई वर्ष अगाडि नै नारा लेकमा टावर बन्ने गरी टेण्डर गरेको भएपनि हालसम्म सो टावर बनेको छैन।