राजु अधिकारीको ‘आखिर रोज्ने के?’ लोकार्पण

राजु अधिकारीको ‘आखिर रोज्ने के?’ लोकार्पण
+
-

काठमाडौँ– योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के?’ लोकार्पण गरिएको छ। कोभिड–१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजनमार्फत लोकार्पण गरिएको हो।

उद्यमी एवं गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखकले मंगलबार संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

टेलिभिजनमा पुस्तक लोकार्पणका अवसरमा जीवन, जगत्, मानिसका इच्छा आकांक्षा, योग, ध्यान अनि यसको प्रभावलगायत विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तर्संवादसमेत गरेका थिए।

उक्त अवसरमा लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठीक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताए।

यसले मानिसलाई दुःखद अवस्थामा पुर्‍याउने उनको भनाइ छ। ‘आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाईं हो। त्यसलाई थोरै भए पनि समाधान दिने जमर्काे पुस्तकले गरेको छ,’ उनले भने।

धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा पनि उनले पुस्तकमा उल्लेख गरेका छन्।

‘मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न,’ उनी भन्छन्, ‘धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न।’

यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ सिकाउन खोजेको लेखक अधिकारीले बताए। साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ।

‘मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ तर जीवनमा साधनालाई छुटाउनु हुँदैन’, उनी थप्छन्, ‘जीवनको भुमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकमार्फत गर्न खोजेको छु।’

मानव जीवनमा निर्णयशक्ति अभिवुद्धि गर्ने पुस्तक ‘आखिर रोज्ने के?’ रहेको उद्यमी महतोले बताए। मानिसले मन र दिमागमध्ये मनको आवाज रोज्नुपर्छ। मनको आवाज रोज्यो भने जीवनमा उन्नति प्रगति हुँदै जाने उनको भनाइ छ।

‘यो पुस्तकले भन्न खोजेको आशय मनलाई रोजौँ अर्थात् मनको आवाज रोजौँ भन्ने हो,’ उनले भने।

आफ्नो जीवनलाई शान्तअनि सुसंस्कृत बनाउन चाहनेलाई यो पुस्तक अति उपयोगी हुन सक्ने उनले बताए। ‘यसले स्वस्थ जीवनको मार्गनिर्देश मात्र गर्दैन, सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ उद्यमी महतोले भने।

जीवन र जगत् आफैंभित्र यति सुविस्तृत एवं गहन हुँदाहुँदै आजका प्रायः मान्छे विष लागेको माछाजस्तो छटपटाएको उनले बताए।

उनले भने, ‘अन्तरजीवनप्रति मानिसको दृष्टि अपूर्ण छ। पैसा–पैसा, म, मेरो, भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छन् उनीहरू। उनीहरूलाई यिनै कुराको रस सत्य लाग्छ। र दुर्भाग्य, सत्य रस उसलाई अर्थहीन लाग्छ।’

कलियुगी मानिस चौबीसै घण्टा रसरङ्ग र द्रव्य वासनामा निमग्न रहेको उनले बताए। ‘बहिर्मुख, बहिर्मुख अनि बहिर्मुख, जीवनभरि बहिर्मुख। यस्तै छ, दुनियाँको हालचाल। अन्तर्मुख हुन न कसैले सिकायो, न हामीले जान्यौँ। कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का। अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधनगर्ने प्रयास हो— आखिर रोज्ने के?’ उनले प्रस्ट पारे।

डा. अधिकारीले ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौँ, भोग पनि गरौँ’, ‘तपाईंका लागि योग’, ‘यस्तो होस् जीवनशैली’ र ‘जिन्दगी, रिल्याक्स प्लिज!’ प्रकाशित भइसकेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?