
सिड्नी – अस्ट्रेलियाका शैक्षिक परामर्शदाताहरूको छाता संगठन ‘अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)’ ले विभिन्न सञ्चारमाध्यममा अस्ट्रेलियाको सीमा प्रतिबन्ध र विद्यार्थी आगमनबारे भ्रमपूर्ण समाचारहरू आएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाका अध्यक्ष भूपाल सिटौलाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा केही अनलाइन सञ्चारमाध्यमले भ्रामक तथा आधारबिहीन समाचार प्रकाशित गरी विद्यार्थी तथा अभिभावकलाई समेत भ्रममा पारेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
“अस्ट्रेलियाको केन्द्रीय सरकारको आधिकारिक निर्णय बमोजिम अस्ट्रेलिया प्रवेशमा रोक विशेष परिस्थितिबाहेक यही आउँदो सन् २०२१ को जुन १७ सम्मका लागि मात्र रहेको जानकारी गराउन चाहन्छु । यसबाहेक अस्ट्रेलिया प्रवेश र आगमनका सम्बन्धमा सरकारको अर्को कुनै निर्णय बाहिर आएको देखिँदैन । यस्तो परिस्थितिमा सन् २०२४ सम्म अस्ट्रेलियन बोर्डन नखुल्ने र विद्यार्थी आगमनमा समेत रोक लाग्ने जस्ता समाचार आउनुमा कुनै आधार नरहेको जानकारी गराउँदछौं । यसरी अस्ट्रेलियन सरकारको आधिकारिक निर्णय नआइसकेको अवस्थामैं यसको अपव्याख्या गरेर समाचार प्रकाशन र प्रसारण गर्दा यसबाट विद्यार्थी र अभिभावकमा अन्यौलता छाएकोमा एका यसको खण्डन गर्न चाहन्छौँ ।” विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाबाट प्रभावित विश्व बिस्तारै सहज अवस्थामा जादै गर्दा अस्ट्रेलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहज साथ अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको समेत एकाले जनाएको छ ।
साथै अस्ट्रेलियाका न्यू साउथ वेल्स र भिक्टोरिया राज्यले सङ्घीय सरकारलाई राज्यको स्वास्थ नीति वमोजिम क्वारेन्टाइनको अनिवार्य शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउनका लागि विशेष आग्रह समेत गरिरहेको अवस्थामा बिनाआधार र प्रमाण अस्ट्रेलिया प्रवेशमा रोक लाग्न सक्ने जस्ता समाचारले विद्यार्थी र अभिभावक मात्र नभइ यस शैक्षिक उद्योगमा समेत प्रभाव पर्ने मनसाय राखिएको एकाले जनाएको छ ।
गत अप्रिल १३ तारिखमा सेभेन न्यूज अस्ट्रेलियाले प्रसारण गरेको सामग्रीमा सामान्य जनजीवनमा फर्कन अस्ट्रेलियालाई सन् २०२४ सम्म लाग्न सक्ने विशेषज्ञको चेतावनी शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचारलाई अपव्याख्या गरेर सन् २०२४ सम्म अस्ट्रेलिया विद्यार्थीका लागि नखुल्ने मनसायको समाचार सम्प्रेषण हुनु आफैंमा अपत्यारिलो भएको एकाले दाबी गरेको छ ।