
सिमकोट– सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नु पर्ने भएपछि हुम्लामा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुले सास्ती खेप्नुपरेको छ।
खाता खोल्न सदरमुकाम सिमकोटसम्म चार घण्टादेखि एक दिन पैदल हिँडेर आउनु पर्ने भएपछि उनीहरुलाई समस्या भएको हो।
सिमकोट गाउँपालिका– ७ का ७८ वर्षका जेष्ठ नागरिक पञ्चवीर रोकायाले पाँच घण्टा पैदल उकालो हिँडेर बैंक खाता खोल्न सरदमुकाम आएको बताए।
दमका बिरामीसमेत रहेका रोकायाले आफू निक्कै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको बताए। जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई दुःख दिने काम भएको उनको गुनासो छ।
सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भएपनि सेवाग्राहीलाई समस्या थपिएको उनको भनाइ छ।

पञ्चवीर रोकाया।
त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षका जेष्ठ नागरिक आङ्ग्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताए।
सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गरे।
यता नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीकी ९० वर्षकी पाल्जुमा तामाङको अवस्था पनि उस्तै रहेको छ। उनले तीन दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नै पर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित हुने गुनासो गरिन्।