
सिमकोट– हुम्लाको सिमकोट विमानस्थलमा कोरोना परीक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएको छ।
सम्भावित कोरोना संक्रमित भित्रिने सम्भावितलाई मध्यनजर राख्दै गरिएको एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।
नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै जिल्ला भित्रिएका ३६ जनामा कोरोना परीक्षण गरिएकोमा आठ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्।
सुर्खेतबाट आएका दुई जना र नेपालगञ्जबाट आएका ६ जनामा संक्रमण देखिएको उनले बताइन्। संक्रमितमध्ये एक महिला र सात पुरुष छन्।
संक्रमित सबैलाई रानीवनस्थित आइसोलेशन वार्डमा राखिएको छ। उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ। कोरोना संक्रमणको दोस्रो लहरमा हुम्लामा पहिलो पटक संक्रमित भेटिएका हुन्।