
सिमकोट– हवाई मार्ग हुँदै सोमबार सुर्खेत र नेपालगञ्जबाट हुम्ला आएका ८ जनामा कोरोना संक्रमण देखिएपछि हुम्ला भित्रिएका सबै यात्रुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ।
पछिल्लो समय नेपालगंज र सुर्खेतबाट जिल्ला भित्रिएका हवाई यात्रुहरुको ट्रेसिङ कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।
ट्रेसिङ कार्य सुरु भएको र अब जिल्लामा कोरोना सक्रमणको अवस्थाबारे जानकारी हुने उनले बताए। एण्टिजेन किटबाट सोमबार ३६ जनाको कोरोना परीक्षण गरिएकोमा आठ जनामा कोरोना संक्रमण देखिएको थियो।
गत वैशाख १४ गतेयता हवाई मार्गबाट सुर्खेत र नेपालगंजबाट हुम्ला भित्रिएका ३३६ जनामध्ये मंगलबारसम्म एक सय जनाको ट्रेसिङ कार्य भएको र दुई दिनमा सबै जनाको गरिसक्ने तयारीका साथ काम भएको उनले बताए।
हालसम्म ट्रेसिङ गरिएका सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी आएको उनले बताए।
जिल्ला भित्रिएकामध्ये केहीसँग भने सम्पर्क हुन सकेको छैन। यसरी हुम्ला भित्रिएका नागरिकहरु नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका रहेका छन्।