
दाङ – तुलसीपुर उपमहानगरपालिका–९ निवासी ४८ वर्षीय पुरुषलाई केही दिन अघि कोरोना विशेष अस्पताल बेलझुन्डीमा भर्ना गरिएको थियो ।
तर, उनको भर्ना गरिएको अर्को दिन मृत्यु भयो । त्यतिबेला अक्सिजन आईपुग्न १५ मिनेट ढिला भएको थियो । अक्सिजन नपाएर उनको मृत्यु भयो ।
अहिले कोरोना विशेष अस्पताल बेलझुन्डिमा अक्सिजन अभाव भएपछि नयाँ भर्ना रोकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।
‘१०० बेड अस्पताल सञ्चालनमा छ । ५७ जनाको उपचार जारी छ’, उनले भने, ‘अक्सिजनको पर्याप्त र सहज उपलब्धता नहुँदासम्म कसैले पनि बिरामी भर्नाका लागि सिफारिस र दबाब नदिनुहोला । थप बिरामी भर्ना गर्नु भनेको उपचारमा रहेका अन्य बिरामीको ज्यान जोखिममा पार्नु हो ।’
जिल्लामा अक्सिजन उत्पादन नहुँदा नेपालगञ्जबाट ल्याउनुपर्ने बाध्यता छ । नेपालगञ्जमा अक्सिजनको माग थेग्न गाह्रो छ ।
‘एक छिन ढिलो भयो भने बिरामीको ज्यान जोखिममा पर्छ’ वलीले भने, ‘अक्सिजनको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले ध्यान दिनुपर्यो ।’