ओली–नेपाल एकता प्रयास असफल हुने संकेत, अलमल्याउने दाउमा ओली रहेको नेपाल पक्षको बुझाई

ओली–नेपाल एकता प्रयास असफल हुने संकेत, अलमल्याउने दाउमा ओली रहेको नेपाल पक्षको बुझाई
+
-

काठमाडौँ- विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई बचाउन गरिएको अन्तिम प्रयास असफल हुने संकेत देखिएको छ।

संसदमा आफूले लिने विश्वासको मतमा माधकुमार नेपाल पक्षको साथबिना सफल नहुने देखेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दोस्रो तहका नेताहरुलाई नेपाल पक्षलाई फकाउन तीव्र प्रयास गरेपनि त्यो असफल हुने संकेत देखिएको हाे।

ओलीले विश्वासको मत लिनका लागि बाेलाइएकाे संसद बैठककाे मिति आउन अब दुई दिन मात्रै बाँकी छ। तर ओली र नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरु युद्धस्तरमा लागे पनि यो समाचार तयार पार्दासम्म उनीहरु असफल छन्।

आज दिनभर पनि ओली र नेपाल वार्तामा बस्ने सम्भावना नरहेको एक विश्वासनीय स्रोतले बताएको छ।

स्रोतले भनेको छ,‘ओली पक्षले कन्फियुजन मात्रै सिर्जना गरेको छ। यस्तो कन्फियुजनमा हाम्रो संवाद या वार्ता अघि बढ्दैन। हाम्रो माग र अडान स्पष्ट छ। २७ गते नै त्यो सार्वजनिक हुनेछ।’

नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने, बरु सांसदहरुले सामूहिक राजीनामा दिने विषयबारे आन्तरिक छलफल तीव्र बनाएकोछ। नेपाल पक्षका एक केन्द्रीय सदस्यले भनेका छन्,‘ अब हाम्रो विकल्प साँघुरिएको छ। हामी ओलीलाई साथ दिन सक्दैनौँ। बरु सांसदहरुको सामूहिक राजीनामा आउनु उचित हुन्छ। त्यो हाम्रो छलफलको विषय बनेको छ। निर्णय भने हामीले लिइसकेका छैनौँ।’

उनीहरुको अर्को विकल्पमा फरक दल गठन गरी ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने हो।

स्रोतले भन्यो,‘ हामीलाई थाहा छ अब ओलीसँग मिल्ने वा उनीसँगै रहन सकिन्न भन्ने । तर ओलीको विश्वास गर्न पर्छ कि भन्ने नेताहरु हाम्रै पक्षमा भेटिनुभएको छ। किनभने ओलीले फकाउने तीव्र प्रयास गरेका छन्। तर नेता नेपाल यसमा दृढ हुनुहुन्छ। ओली बेइमान छन् भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ।’

चार दिन यता ओलीले नेपाल पक्षलाई फकाउन आफ्ना विश्वास पात्र सुवास नेम्वाङ, विष्णु रिमाल, विष्णु पौडेल र ईश्वर पोखरेललाई खटाएका छन्। पोखरेल राष्ट्रपति निवासमा पुगेका छन्, शुक्रबार साँझ।

एकता भइहाल्छ कि भन्ने झिनो आशसहित नेपाल पक्षका तर्फबाट योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्टले ओली पक्षका यी नेताहरुसँग संवादलाई निरन्तरता दिइरहेका छन्। तीन दिन अघि उनीहरु मेरिअट होटलमा बसेका थिए। शुक्रबार साँझ बालुवाटारमै उनीहरु छलफलमा बसे। शनिबार पनि उनीहरु छलफलमा जुट्दै छन्।

ओलीले आफूसँगको वार्तामा नेपाललाई बसाउन नेपाल पक्षका र उनका सम्धी नाता पर्ने सोमप्रसाद पाण्डे र आफ्ना विशेष आर्थिक सल्लाहकार मोती दुगडलाई पनि शुक्रबार नेपाल निवास कोटेश्वर पठाएका थिए। दुगडले ओलीसँग वार्तामा बस्न नेपाल सकारात्मक भएको दाबी गरेका थिए। तर शुक्रबार ओली र नेपालबीच वार्ता हुन सकेन। यसअघि ओली र नेपालबीचको वार्ताको चाँजोपाँचो मिलाउने काम दुगडले नै गरेका थिए। तर वार्ता सफल हुने उनको विश्वासले मेल खाएन।

कहाँ अड्किएको छ सहमति?


ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच खासगरी एमाले पुरानै अवस्थामा फर्किएको पाँच दिनमै ओलीले हटाएका नेपाल पक्षका पदाधिकारीकलाई पुनःस्थापित र त्यसपछि दुवै पक्षबाट गठन भएका समानन्तर र पुनर्गठित कमिटीहरुलाई लिएर एक मत हुन सकेको छैन।

नेपाल पक्षले आफू पक्षीय पदाधिकारीहरुलाई पुरानै अवस्थामा फर्काउन र पछिल्लो पटक पुनःगठित कमिटीलाई नचलाउन माग गरेको छ। तर ओली पक्षका नेता शेरबहादुर तामाङ भन्छन्,‘ प्रधामन्त्रीलाई संकटका बेला साथ दिएका नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ। अब उनीहरुलाई प्रधानमन्त्रीले घर जाउ भन्न सक्नुहुन्न। अर्कोतिर माथिल्लो तहमा महाधिवेशन कमिटी गठन भइसकेको छ। त्यसलाई चलाउन पनि असम्भव छ।’

नेपाल पक्षले २०७५ जेठ २ मै फर्कनु पर्ने अडान लिएको छ। ओली पक्षले हालकै अवस्थामा चलौँ भन्ने अडान लिएको छ। यस्तो अवस्थामा ओली नेपाल मिलन बिन्दु धेरै टाढा देखिन्छ। ओलीले नेपाललाई फकाउन राष्ट्रपति विद्यादेवी भण्डारीको फेरि पनि दुरुपयोग गरेका छन्। बिहीबार राती पौने तीन घण्टाको भण्डारीसँग नेपालको भेटमा ओली पनि सामेल भएको अनुमान भएको छ। तर त्यसको पुष्टि हुन सकेको छैन।

नेपाल पक्षका एक केन्द्रीय कमिटी सदस्यले भने,‘ राष्ट्रपति र कमरेड नेपाल मात्रै तीन घण्टा के विषयमा छलफल गर्नु भयो होला र? त्यहाँ प्रधानमन्त्री पक्कै सहभागी हुनुहुन्थ्यो। तर तीन जनाको भेटलाई हामीले पनि पुष्टि गर्न सकेका छैनौँ।’

तर नेपालले राष्ट्रपति निवासमा पौने तीन घण्टा बिताएर फर्केको प्रमाण देशसञ्चारसँग सुरक्षित छ। शुक्रबार राष्ट्रपतिलाई साक्षी राखेर नेपाल र ओलीले सहमति गरेको भन्ने समाचारहरु बाहिरिए। त्यसलगत्तै नेपालले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीसँग कुनै पनि सहमति नभएको दाबी गरेका छन्।

उनले भनेका छन्,‘ २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो। यस सम्बन्धमा कुनै किसिमको भ्रम नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आव्हान गर्दछौँ।’

तर नेपालले आफू, प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो या थिएन त्यसबारे खुलाएका छैनन्। ओलीले नेपालसँगको सहमतिका लागि खटाएका नेताहरु भने छलफलहरु सकारात्मक बन्दै गएको दाबी गर्छन्।

नेता सुवास नेम्वाङ भन्छन्,‘ अब पार्टीमा कुनै गुट या समूह भनेर छलफल गरिँदैन। सिंगो पार्टीलाई अघि सारेर संवाद हुन्छ। व्यक्तिव्यक्तिबीच संवाद र सम्झौता हुन्छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?