
नेपाल टेलिकमको सिमकार्डबाट फोन डायल गर्दा हिजोआज कोरोना भाइरसबाट जोगिनको लागि अनुरोध हैन, गीत बज्न थालेको छ,
‘अर्को जुनी खै कुन्नी कसलाई थाहा छ र खै ?
यही जुनीलाई कोरोनाबाट बचाउँ है !’
कलाकार हरिवंश आचार्यको स्वरमा बनको यो सन्देशमुलक गीत २ मे मा युट्युबमा अपलोड भएको थियो। ४१ सेकेन्डको यो गीत सुरुमा गज्जबको टिभी र मह सञ्चारको यूट्युब च्यालनबाट सार्वजनिक भएको थियो। अहिले यो गीत नेपाल टेलिकमको रिङव्याक टोनमा बज्छ।
अपलोड भएपछि छोटो समयमा धेरैले रुचाएको यो गीत कसरी ‘रिङ ब्याक टोन’ बन्यो त ?
बैशाखको १६ गतेदेखि काठमाडौँमा निषेधाज्ञा लागू भयो। सर्वसाधारणलाई घर बाहिर नहिँड्न स्वास्थ्य मन्त्रालयबाट अनुरोध आइरह्यो। सञ्चार माध्यममा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या भइरहेको समाचार आउन थाले।
बैशाख १८ गते गायक सरोज ओलीलाई जनचेतनामूलक गीत बनाउने आइडिया फुर्यो र उनी व्यवस्थापनमा लागे। उनले उनी र मेलिना राईको स्वरमा चर्चित बनेको गीत ‘अर्को जुनी खै कुन्नी’ सम्झे। यो गीतलाई प्रमुख निर्वाचन आयुक्त समेत रहेका गीतकार दिनेश कुमार थपलियाले लेखेका थिए। दिपक शर्माले संगीत दिएको यो गीतलाई उदय पौडेलले एरेञ्ज गरेका थिए।

प्रमुख निर्वाचन आयुक्त तथा गीतकार दिनेश कुमार थपलिया
‘भन्न त अर्को जुनी भनिन्छ, तर कतिलाई अर्को जुनी हुन्छ अथवा हुन्न भन्नेमा विश्वास लाग्दैन। त्यसैले यही जुनी राम्रो बनाउँ भन्ने लाग्छ,’ ओलीले भने, ‘गीतका शब्द अनुसार कोरोना भाइरसबाटा जोगिऔँ भन्ने सन्देशमूलक गीत बनाउन सकिन्छ भन्ने लागेर हरिवंश दाईलाई ‘तपाईले यो गीत गाउन पर्छ’ भने अनि दिनेश थपलिया ज्यूलाई गीतको शब्द लेख्न अनुरोध गरे।’
दिनेशलाई सरोजको फोन आएपछि उनले फटाफट शब्द बुने, कापीमा खेस्रा तयार भएपछि उनले भाइबरमा गीतका शब्द लेखेर पठाए।
ओलीले पहिलेकै गीतका संगीतकार दीपक शर्मालाई पनि आफ्नो योजना सुनाए। सामाजिक जनचेतना फैलाउने कामका लागि दिपकले नाइँ भनेनन् र फटाफट संगीत बन्यो। दिमागमा आइडिया फुरेको दिन साँझ नै गीतको शब्द, संगीत र गायक नै तयार भएपछि भोलिपल्ट ‘मे २’ मा गीत रेकर्ड गर्ने योजना बन्यो, जसमा जोडिए नरेन्द्र वियोगी। उनले अनामनगरको वेभ स्टुडियो नेपालमा गीत रेकर्ड गर्ने व्यवस्था मिलाए। नवराज उप्रेतीलाई दूरी कायम गरी भिडियो खिच्न लक्षण खरेलले सहयोग गरे।
कलाकार हरिवंश आफ्नो निवासबाट जिल्ला प्रशासन कार्यलयको पास लिएर एक्लै स्टुडियो पुगे र गीत रेकर्ड गराए। ४१ सेकेन्डको भिडियो अर्जुन पोख्रेलले बनाए। अनि साँझसम्म गीत युट्युबमा अपलोड भयो।
युट्युबपछि गीत हरिवंश आचार्यको फेसबुकमा अपलोड गरियो। यो समाचार तयार पार्दासम्म गीतलाई २७ हजारपल्ट शेयर गरिएको छ, १६ लाखभन्दा धेरैपल्ट हेरिएको छ।
बिना पारिश्रमिकको गीत
भिडियो सहित बनेको यो गीत तयार पार्दा कसैले पनि पारिश्रमिक नलिएको गायक ओलीले बताए। यो गीत कोराना माहामारीको समयमा सन्देश दिन बाहेक अरु कुनै प्रायोजन नभई निर्माण गरिएको कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन्।
कोरोना महामारीमा हामीले एउटा गीति सन्देश निर्माण गरी सामाजिक संजाल मार्फत प्रचार प्रसार गरेका थियौ । त्यहि सामाजिक…
Posted by Hari Bansha Acharya on Wednesday, May 5, 2021
आजभन्दा ४ दिन अगाडि (मे ६) मा उनले सामाजिक सञ्जाल मार्फत प्रचार गरिएको यो सन्देशलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सञ्चार माध्यमहरुबाट प्रशारण गर्ने जानकारी गराएको उल्लेख गरेका छन्। मन्त्रालयलाई सम्पूर्ण स्वामित्व सुम्पेका यी सर्जकहरु अहिले राम्रो सन्देश प्रवाह भएकोमा खुसी छन्।
प्रमुख निर्वाचन आयुक्त तथा गीतकार दिनेश कुमार थपलिया भन्छन्, ‘मैले लेखेका धेरै सन्देशमूलक गीतहरु मध्ये यो गीत अलि धेरै चर्चित भयो, प्रभावकारी पनि भयो होला भनेर खुसी लागेको छ।’

गायक सरोज ओली
गीत बनाउने सम्पूर्ण व्यवस्थापकीय जिम्मा लिएका गायक सरोज ओली भन्छन्, ‘हामी कोही नभेटी गीत १ घण्टामा तयार भयो। २ बजे रेकर्ड भएर पाँच बजे सार्वजनिक गरेका थियौँ, हरिवंश दाईको फेसबुकमा राख्दा १ घण्टामा नै पाँचलाखभन्दा धेरैले हेरेका थिए। कमेन्ट राम्रो आयो।’
त्यसको केही दिनमा नै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले सरोजलाई सम्पर्क गरे र गीत मन्त्रालयलाई हस्तान्तरण भयो।
एनसेल र स्मार्ट फोनको रिङ व्याक टोनमा पनि बज्दै
स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीका अनुसार मन्त्रालयले नेपाल टेलिकम, एनसेल र स्मार्ट फोन तीनओटैको रिङ व्याक टोनमा यो गीत बजाउनका लागि प्रक्रिया थालिइसकेको छ। स्मार्ट फोन र एन सेलमा अबको एक दुई दिनमा बज्ने उनले जानकारी दिए।